रस्मी थापा

विराटनगर । कम्प्युटर विज्ञानमा इन्जिनियरिङ गर्दै गरेका गंगाराम यादवले अमेरिका जान ‘डाइभरर्सिटी भिसा’ (डीभी) लागि आवेदन दिएका छन् । उच्च शिक्षा अध्ययन गरिसकेपछि पनि स्वदेशमा रोजगारी र अवसर नपाइने भएकाले डीभीका लागि आवेदन दिएको उनी बताउँछन् ।

उनीजस्ता धेरै युवाहरु यतिबेला त्यस्तो आवेदन दिन लाम लागेका देखिन्छन् । राम्रो पढे पनि स्वदेशमा भनेजस्तो रोजगारी नपाउने भएकाले युवाहरु अमेरिका जान चाहन्छन् ।

‘यहीँ बस्ने मन त छ तर सुविधा छैन, रोजगारीको अभाव छ’ यादवले भने, ‘भविष्य राम्रो होस् भनेर डीभीका लागि आवेदन दिएको छु । अमेरिकाले विभिन्न देशका नागरिकलाई भित्र्याउन डाइभरसिटी भिसा (डीभी) चिठ्ठा दिदै आएको छ ।

नेपालीलगायत विभिन्न देशका नागरिकले अमेरिका जानका लागि फारम भर्दै आएका छन् । यसपटक नेपालमा असोज २० गते फारम भर्न आवेदन खुलेको छ ।

विराटनगरस्थित डिजिटल फोटो सर्भिसले २३ गतेबाट आवेदन भराउँदै आएको छ । दिनको लगभग २० वटा फारम भरिने गरेको छ ।

दैनिक सयभन्दा बढीले फारम भर्ने गरेको कर्मचारी दिपेन्द्र गौतमले बताए । ५ वर्ष अघिदेखि फारम भराउँदै आएकामा पछिल्लो वर्ष समग्रमा तीन सयजनाले आवेदन दिएका थिए ।

तीमध्ये दुईजनाको डीभी परेको उनले बताए । १७ देखि ४५ वर्ष सम्मका व्यक्तिहरुले फारम भर्ने गरेका छन् । युवाहरुको संख्या पनि निकै छ । धेरै जस्तो मधेसी समूहका मान्छेहरु फारम भर्न आउने गरेको संस्थाले जनाएको छ ।

दुई वर्षदेखि डीभी फारम भराउँदै आएको हेरिसोन फोटो सर्भिसमा आइतबारदेखि फारमको आवेदन भराउन थालिएको छ ।

दिनको ३० देखि ४० जनासम्मले फारम भर्ने गरेको र अहिलेसम्म २०० जनाले फारम भरेको स्टुडियोका सञ्चालकले बताए । फारम भर्ने अन्तिम म्याद कात्तिक २० गतेसम्म छ ।

एउटा फारम भरेबापत २५० रुपैयाँ लिने गरेको पनि उनले बताए । त्यसैगरी सोमबारदेखि दिनको ६० वटासम्म फारम भर्दै आएको एज यु लाइक फोटो स्टुडियोका सञ्चालकले बताए । उनका अनुसार १० जना सम्मलाई डीभी चिठ्ठा परिसकेको छ ।

स्वदेशमै रोजगारी पाउन कठिन भएकाले धेरै नेपाली युवा विदेशिन चाहन्छन् । नेपाल प्रहरीमा १५ वर्षदेखि आवद्ध ४५ वर्षीय सन्तोष श्रेष्ठ भन्छन् सरकारी जागिर भनेर के गर्नु पैसा थोर हुन्छ, भनेजस्तो तरिकाले बस्न पाइँदैन । डीभी परे त राजीनामा दिएर भए पनि जाने विचारमा छु ।’

भर्खरै १२ कक्षा सकेकी कृति भुजेल भन्छिन् ‘पढेर नेपालमै केही गर्न मन छ, तर भनेजस्तो हुँदैन, आफूले लगानी गरेअनुसारको काम पाइँदैन । त्यसैले डीभीका लागि आवेदन दिएकी छु ।’

(प्रशिक्षार्थी)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु