विराटनगर । संविधानमा समानुपातिक र समावेशी प्रतिनिधित्व गराउनु पर्ने व्यवस्था भए पनि यौनिक तथा लैंगिक अल्पसंख्यकहरुबारे राजनैतिक दलहरुले चासो नदिएको भन्दै असन्तुष्टि जनाइएको छ ।
यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघले आइतबार विराटनगरमा आयोजना गरेको अन्तक्रिया कार्यक्रमका सहभागीरुले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राजनैतिक अधिकार संरक्षणका लागि राजनैतिक दलहरुले चासो नदिएको उनीहरुको गुनासो छ ।
राजनैतिक प्रतिनिधित्व मात्र होइन राजनैतिक दलको कार्यसमितिमा पनि यौनिक तथा अल्पसंख्यकहरुको प्रतिनिधित्व भए मात्र उनीहरुको राजनैतिक र मानव अधिकार संरक्षण हुनेतर्फ राजनैतिक दलहरुको ध्यान जानुपर्ने उनीहरुको माग छ ।
कार्यक्रममा सहभागीले रुप रंग तथा बनोटका कारण अहिले पनि यौनिक तथा अल्पसंख्यकहरु विभेदमा पर्ने गरेकाले राजनैतिक दलहरुको आगामी चुनावी घोषणा पत्रमा यस बारे ध्यान दिन आग्रह गरिएको छ ।
मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ३ जना यौनिक तथा अल्पसंख्यकहरु उम्मेदवार बनेका छन् । कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, स्थानीय पालिकाका प्रतिनिधि र सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।