काठमाडाैं । काठमाडौंको सुकेधारास्थित गोरखनाथ कुचो सप्लायर्सका सञ्चालक रामप्रसाद बलाखे यतिबेला निकै व्यस्त छन् । अन्य समयभन्दा तिहारमा कुचोको माग र व्यापार बढ्ने भएकाले उनको व्यस्तता बढेको हो ।
विगत ६ वर्षदेखि नेपालमा कुचोको व्यापार गर्दै आइरहेका उनी कुचो भारत निर्यात गर्छन् । नेपालमा भन्दा कुचोको माग भारतमा धेरै हुने भएकाले तिहारमा उल्लेखनीय मात्रामा कुचाे निर्यात भइरहेकाे उनले बताए ।
तिहार नजिकिएसँगै बजारमा कुचोको माग र व्यापार बढेको छ । लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाई टीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा व्यवसायीहरुलाई कुचो उत्पादन गर्न भ्यानभ्याइ भएको छ ।
कुचोको माग बढेसँगै व्यवसायीहरू कुचो लगायत झाडु, थुन्से, नाम्ला, डाेकाे र डालाे बनाउन व्यस्त भएका छन् ।
बलाखे जस्तै गोरखनाथ कुचो सप्लायर्सका बजार व्यवस्थापक सुदीप श्रेष्ठले पनि कुचाेकाे व्यापारमा वृद्धि भएकाे बताए । गत तिहारकाे तुलनामा यस वर्ष कुचाेकाे माग अन्य जिल्लाहरूबाट पनि आएकाले बजार राम्राे हुनेमा उनी ढुक्क देखिन्छन् ।
‘बजारमा अहिले नर्मल कुचोको मूल्य नै ८० रुपैयाँदेखि २०० रुपैयाँसम्म छ । तिहारका लागि धेरै माग बढेको छ’, उनले भने, ‘काठमाडौंमा मात्रै नभइ अन्य जिल्लामा पोहोरको भन्दा धेरै माग छ । अहिले तिहारको सिजनमा हरेक दिन १० हजार कुचा पठाइरहेका छौँ ।’
तिहार नजिकिएसँगै यो समयमा कुचो, डोको, डालो लगायतकाे खपत अरू समयभन्दा धेरै हुने गर्छ ।