सरिता कर्मकार
विराटनगर । तिहार नजिकिएसँगै बजारमा फूलको माग बढ्न थालेको छ । तिहारका लागि भनेर भारतबाट नेपालमा ठूलो परिमाणमा सयपत्रीलगायत फूल आयात हुने गरेको छ ।
तिहारलाई लक्षित गर्दै फूल व्यवसायीले सयपत्री र अरु प्रकारका फूलहरु आयात गरिरहेका छन् ।
कतिपय स्थानीय नर्सरीहरुले आफैं उत्पादन गरी फूल तयार पारेका छन् । नर्सरीहरुले तयारी फूलमात्र होइन बिरुवा पनि बिक्री गर्ने गरेका छन् ।
त्यस्तो बिरुवा ग्राहकहरुले आफ्नो घरमा गमला अनि करेसा बारीमा रोपेर फूल उत्पादन गर्छन् ।
फूल व्यवसायीहरुका अनुसार तिहारका लागि विभिन्न क्षेत्रका ग्राहकहरुले पहिल्यै निश्चित परिमाणमा आफ्ना लागि फूल राखिदिन आग्रह गर्ने गरेका छन् ।
ग्राहकको मागअनुसार उनीहरुले फूल उत्पादन गर्ने गरेका छन् ।
तिहारमा सबैभन्दा धेरै प्रयोग हुने फूल सयपत्री हो । गाई पुज्नेदेखि भाइ पुज्नसम्म यो फूल प्रयोग गरिन्छ ।
रानीस्थित डाइमन्ड नर्सरीका सञ्चालक सर्फे आलमले आफ्नो नर्सरीमा फूल लगभग तयार भइसकेको बताएका छन् ।
उनले दुई प्रकारका सयपत्री फूल तयार पारेका छन् । उत्पादित फूल बजार पुर्याउने गरेका छन् । कतिपय उपभोक्ता उनको नर्सरीमै पुगेर फूल किन्ने गर्छन् ।
सयपत्री फूलको लागि दुई महिना अघिबाटै मेहेनत गर्नुपर्ने उनी बताउँछन् । यसको बिउ भारतबाट ल्याउने गरेको उनले सुनाए ।
फूल बेचेर ४० प्रतिशत नाफा हुने व्यवसायी बताउँछन् । आठ हजार बिरुवा तयार गर्दा दुई हजार बिरुवाले मात्र उत्पादन दिने भएकाले धेरै नाफा नहुने उनीहरुको भनाइ छ ।
आलमले १२ जना कामदार राखेर फूलका बिरुवाहरु उत्पादन गर्ने गरेका छन् ।
मेहनत र लगानी अनुसारको फाइदा नभए पनि तिहारकै लागि भनेर फूल रोपेको आलमले बताए ।
विगतका वर्षहरुमा भन्दा यस पटक फूलको व्यापार उति धेरै नभएको उनको अनुभव छ ।
हाइटेक नर्सरीका कर्मचारी दुखन महतले तिहारको समयमा अन्य समयमा भन्दा व्यापार राम्रो गर्छन् ।
अरु बेला खासै व्यापार नभए पनि चाडपर्वको समयमा भने बिरुवा समेत बिक्री हुने गरेको उनले बताए ।
(प्रशिक्षार्थी)