काउन्टर पार्टससँग समेत समवन्य गरेर सशस्त्रले नेपाल–भारत सीमा क्षेत्र केन्द्रित नियमित एवं आकस्मिक गस्ती थालेको हो । भारतसँग खुला सीमा जोडिएका प्रदेश १ का झापा, मोरङ र सुनसरीमा सशस्त्रले गस्ती बढाएको छ । सीमा सुरक्षा तथा चोरी तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी पाएको सशस्त्रले दिवा तथा रात्रिकालीन गस्तीलाई प्राथमिकतामा राखेर सीमा क्षेत्रमा सक्रियता बढाएको हो ।
गस्तीसँगै संवेदनशील एवं शंकास्पद स्थानमा चेक पोइन्ट थाप्ने, साइकल तथा मोटसाइकल गस्ती परिचालन, सीमा लगायत सबै क्षेत्रको सूचना संकलन, सुरक्षा व्यवस्था मजवुत बनाउन सबै पक्षसँग समन्वय गर्ने काम सशस्त्रले गरिरहेको छ । त्यसका लागि सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वमा अलगअलग टोली परिचालन गरेका छन् ।जिल्लागत हिसाबले परिचालित टोलीको अनुगमनका लागि गिरीले छुट्टै टोली पनि खटाएका छन् । प्रदेश १ मा भारतसँग खुला सीमा रहेका तराईका तीनवटै जिल्लामा नियमित गस्ती सुरु गरेर त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिने काम भइरहेको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रवक्ता एसएसपी विश्व भट्टराईले जानकारी दिए । उनका अनुसार सीमा इलाकाको अनुगमन तथा सीमा क्षेत्रबाट हुने अवैध कारोबार एवं ओसारपसार नियन्त्रणको मुख्य उदेश्य राखेर सक्रियता बढाइएको छ ।
‘तिहार, छठ लगायतका चाडपर्व पनि नजिकिँदै छन् । चाडपर्वमा सीमा क्षेत्रबाट चोरी तस्करीलगायत अवैध सामान ओसापसारको सम्भावना बढी हुन्छ,’ एसएसपी भट्टराईले भने, ‘मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरेर सुरक्षा सक्रियता बढाउनुपर्ने अवस्था छ । त्यही भएकाले सीमा क्षेत्रमा नियमित गस्ती सुरु गरिएको हो ।’ सशस्त्रको सक्रियताले सीमा अपराध, चाडपर्वका समयमा हुने अवैध गतिविधि तथा नजिकिँदो निर्वाचनमा हुनसक्ने घुसपैठ रोक्न मद्धत पुग्ने उनले बताए ।सशस्त्रले दुई देशीय सीमा क्षेत्रको अवलोकन गरेर सीमास्तम्भको अवस्थाका बारेमा समेत जानकारी लिन थालेको छ । बदलिँदो सुरक्षा चुनौतीलाई मध्यनजर गरेर सीमा क्षेत्रमा शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन सशस्त्र सक्रिय बनेको भट्टराईको भनाइ छ । उनका अनुसार सशस्त्रको उपस्थिति मजवुत बनाएर सीमा क्षेत्रका जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनका लागि अपराधजन्य गतिविधि रोक्न सबै उपाय अवलम्बन गरिने छ ।
त्यसका लागि लामो दूरीको गस्ती परिचालन गरेर सिमावर्ती क्षेत्रको अनुगमन एवं अवलोकन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए । गस्तीसँगै निर्वाचन लक्षित मजवुत सुरक्षा व्यवस्था, चोरी तस्करी तथा अपराधजन्य गतिविधि नियन्त्रण एवं रोकथामलाई प्राथमिकतामा राखिएको छ । प्रदेश १ मा झापा, मोरङ र सुनसरी गरेर भारतसँग २ सय ६९ दशमलव १२ किलोमिटर खुला सीमा छ ।