विराटनगर । सडक मापदण्डमा परेका जग्गा ओगटेर व्यक्तिले मापदण्डविपरीत बनाएका संरचनामा विराटनगर महानगरपालिकाले डोजर चलाएको छ ।
महानगरले डोजर चलाएर सडक मापदण्डमा परेका पर्खालसहितका भौतिक संरचना हटाउन सुरु गरेको हो । सडकमा व्यक्तिगत हिसाबले पर्खाल बनाउने र सूचना जारी गर्दासमेत हटाउन आलटाल गर्ने गरिँदा सडकको स्तरोन्नति तथा विस्तारमा अवरोध पुग्दै आएको थियो ।
सडक मापदण्डमा परेका पर्खाल नहटाउँदा विराटनगरका विभिन्न सडक निर्माणमा अवरोध हुँदै आएपछि महानगरले शनिबारदेखि डोजर चलाउन थालेको हो । पहिलो दिन विराटनगर–३ स्थित कन्यामार्गमा सडक मापदण्डमा परेको पर्खाल हटाइएको छ ।
मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको निर्देशनमा घरको पर्खाल हटाइएको महानगरले जनाएको छ । महानगरका अनुसार स्थानीय कृष्ण रेग्मी र लक्ष्मी रेग्मीले पर्खाल भत्काउन नदिँदा लामो समयदेखि कन्यामार्गको नाला निर्माण रोकिएको थियो । महानगरको अगुवाइमा सडक मापदण्डमा परेका पर्खाल भत्काउन थालिएपछि स्थानीय खुसी भएका छन् ।
स्थानीय केदार खड्काले सडक मापदण्डभित्र परे पनि पर्खाल नभत्काउँदा सडक बन्न नसकेको र महानगरले नेतृत्व गरेर पर्खाल भत्काएकोमा आफूहरु निकै हर्षित भएको बताए । एकजनाले पर्खाल नभत्काउँदा सडक विस्तार हुन नसकेकाले सबैले समस्या झेल्नु परेको उनको भनाइ छ । खड्काले अन्य क्षेत्रमा रहेका यस्ता समस्या समाधानमा महानगर लाग्नुपर्नेमा जोड दिए ।
अर्का स्थानीय जनक तिम्सिनाले लामो समयदेखि एकजना व्यक्तिले पर्खाल भत्काउन नदिँदा सडकमा आवतजावतमा समस्या भएको बताए । उनले अब सडक र नाला बन्नेमा आफूहरु ढुक्क भएको उल्लेख गरे ।
त्यस्तै धरान रोडबाट कन्यामार्ग प्रवेश गर्ने मुखमा पनि भत्काइएको छ । स्थानीय घमचन्द्र तिम्सिनाले आफ्नो घरतर्फको संरचना भत्काउन नदिँदा नाला बन्न सकेको थिएन । मापदण्डअनुसार सडक निर्माणमा अवरोध भएको स्थानका पर्खाल र संरचना हटाउँदै जाने महानगरको भनाइ छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले मेयर र उपमेयरको निर्देशनमा सडक मापदण्डमा परेका पर्खाल, घरटहरासमेतका भौतिक संरचना अटाउन थालिएको जानकारी दिए । पर्खाल भत्काउन प्रमुख कार्यकारी कोइरालासहित नगर प्रहरीका प्रमुख राजन पौडेल, इन्जिनियर अर्जुन थापालगायत पुगेका थिए । स्थानीय देवीमाया पौडेलले विराटनगरको विकास र समृद्धिमा महानगरलाई आफूहरुको सहयोग रहने बताइन् ।
महानगरले नक्सा पास नगरेका पर्खालको महानगरबाट स्वीकृत लिन सूचनासमेत जारी गरिसकेको छ । साथै विकास निर्माणलाई असर गर्ने गरी व्यक्तिगत हिसाबले बनाइएका संरचना हटाउन सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताए ।