गलैंचीफूल तिमीलाई शुभकामना
मेरो मनको भुइँ भयो रङ्गीचङ्गी,
मन रहेसम्म सधैंभरिका लागि
म श्रद्धाको मन्दिरमा बसाउँछु तिमीलाई ।
तदारुकताका साथ तिम्रो सेवा गर्छु
तिम्रो सम्झना आफ्नै वरिपरि छर्छु,
तिमी आरामको आकाङ्क्षा जब राख्छौ
पछ्यौरी ओढाइ काखमा सुताउँछु तिमीलाई ।
जल–बुँदबुँदहरु बलेसीमा उठ्दैछन्
फेरि घामका झुल्का फुट्दैछन्,
अनौठो गुदगदी चढ्छ शरीरभरि
पवित्र अमृतधारा पिलाउँछु तिमीलाई ।
टाकुरा टाकुरीमा चढेको मृदु सपना
आकाश छुने हाम्रो अमिट जपना,
जवाकुसुम तिम्रो पूजनी पाउमुनि
तिमी योगी युगौंसम्म चिताउँछु तिमीलाई ।