विराटनगर । उपचारका क्रममा स्वास्थ्य संस्थाबाट असोज १५ गते बिहान फरार भएका २ जना कारागारका कैदीबन्दी अझै फेला परेका छैनन् । जबरजस्ती करणीमा कैद भुक्तान गर्दै गरेका र लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका २ जना फरार भएका थिए ।

विराटनगर–७ स्थित क्षयरोग अस्पतालमा उपचारका लागि भर्ना भएका झापाको झापा गाउँपालिका–५ का २८ वर्षीय राजकुमार हेमरन र झापा विर्तामोड–३ सैनिक मोडका २८ वर्षीय मञ्जिल गुरुङ फरार भएका थिए ।

हेमरनलाई झापा जिल्ला अदालतले जबरजस्ती करणी कसुरमा १६ वर्ष कैद ठहर गरेपछि झापा कारागारमा कैद भुक्तान गरिरहेका थिए ।

गुरुङ लागूऔषध मुद्दामा पक्राउ परी पर्पक्षका लागि झापा कारागारमा थुनामा थिए । दुवै जनालाई क्षयरोग लागेको पुष्टि भएपछि थप उपचारका लागि विराटनगरको क्षयरोग अस्पताल ल्याइएको मोरङ कारागारले जनाएको छ ।

मोरङ कारागारका निमित्त जेलर तुलसीराम भगतले फरार भएकाहरुको प्रहरीले खोजी गरिरहेको बताए ।

‘कैदीबन्दी फरार भएपछि ड्युउटीमा रहेका २ जना प्रहरीमाथि अनुसन्धान थालेका छौं,’ निमित्त जेलर भगतले भने, ‘कैदी भागेका हुन् वा भगाइएको हो अनुसन्धान पूरा भएपछि घटना बाहिर आउने छ । त्यसपछि कसुर अनुसनरको मुद्दाको प्रक्रिया अघि बढ्छ ।’

कैदीबन्दी फरार भएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालयले एससपी जयराज सापकोटाको नेतृत्वमा ५ सदस्य घटनाको छानबिन समिति गठन गरेको थियो ।

१० दिनभित्र समितिले छानबिन गरेर प्रतिवेदन बुझाउनु पर्ने गरी गठन भएको समितिले समयमै प्रदेश प्रहरी कार्यालयमा प्रतिवेदन बुझाएको बताउँदै,’ १ नम्बर प्रदेश प्रहरी कार्यालय प्रवक्ता एसपी नवीनराज राईले भने, ‘फरार भएका दुवै जना कैदीबन्दीहरुको खोजी व्यापक रुपमा भइरहेको छ । आन्तरिक रुपमा गरिएको छनबिनमा हाम्रोतर्फबाट पनि केही कमजोरी भएको देखिएको छ ।’

घटना कारागारसँग सम्बन्धित भएको हुँदा कारागार ऐनअन्तर्गत रहेर कारागार प्रशासनले अनुसन्धान गर्ने र कारबाही गर्नुपर्ने देखिए मुद्दालगायत प्रक्रिया थाल्ने एसपी राईले बताए ।

308
Shares
२९ आश्विन २०७९, शनिबार १९:१७