दिन र रातको पुनरावृत्ति जस्तै
अनन्त यात्रामा धेरै पर पुग्नुछ मलाई न रोक
र रोक्न पनि न खोज ।

ए ! सुन त !
यात्राको सम्पूर्ण गन्तब्य हैनौ तिमी !

यात्रामा कुनै मोड भेटे जस्तै
एउटा मोड हौ
जो सिंगो यात्रामा
धेरै धेरै मोडहरु भेटिन्छन्
अनि थोरै वा नगण्य अर्थ
राख्न सक्छन्
हरेक मोडले सिंगो यात्रामा ।

केवल मोडहरुमा अल्मलिएर
यात्राको गन्तब्य फेरिने होइन
मात्र दिशा परिवर्तन हुने हो
क्षणिक नदीको जस्तै
नयाँ मोडहरु प्राप्त गर्न ।

शान्त र सौम्य बगे पनि
उत्ताउलिएर बगे पनि
अन्ततः पुग्नु नै छ त्यसलाई
बग्दै–बग्दै गहिराई लिएर
समुद्रसम्म
र मलाई समाधिसम्म ।

–विराटनगर

168
Shares
२९ आश्विन २०७९, शनिबार १७:२७