विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ मा करेन्ट लागेर शनिबार अपराह्न एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।
हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा कटहरी–४ का ५२ वर्षीय दिलिप साहको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।उनका अनुसार दुर्गा मन्दिरमा लगाएको टेन्ट खोल्ने क्रममा साहलाई हाइटेन्सन लाइनबाट करेन्ट लागेको थियो ।
सिकिस्त अवस्थामा उद्धार गरेर उपचारका लागि कोसी अस्पताल ल्याइएका उनलाई ५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । करेन्ट लागेर छटपटाइरहेको देखेपछि साहलाई उद्धार गर्न गएका अर्का व्यक्ति पनि घाइते भएका छन् ।करेन्ट लागेर सुनसरीको इनरुवा नगरपालिका–७ का ४५ वर्षीय फागु सरदार गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रंगेलीबाट मोटरसाइकलमा विराटनगरतर्फ आउँदै गरेका सरदारले करेन्ट लागेर साह छटपटाइरहेको देखे ।
मोटरसाइकल रोकेर साहलाई उद्धार गर्न पुगे । त्यतिबेलै सरदारलाई पनि करेन्ट लागेको डीएसपी कार्कीले बताए । उनको चिन्ताजनक अवस्था कोसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।