सतिसकुमार राजवंशी

विराटनगर । फोहोरको उचित व्यवस्थापन नहुँदा विराटनगरस्थित कोसी अस्पतालमा दुर्गन्ध फैलन गरेको छ । जताततै फोहोर हुने अनि ठाउँ ठाउँमा पानी जम्ने गरेकाले बिरामीहरु प्रभावित हुने गरेका छन् ।

फोहोर व्यवस्थापन व्यवस्थित नहुँदा दुर्गन्ध फैलने गरेको उपचारका लागि आएका बिरामीहरुले बताएका छन् ।

प्रसुति गराउन आएकी रेनुकाकुमारी मुखिया फोहोरले गर्दा लामखुट्टे धेरै लाग्ने गरेको बताउँछिन् । डेंगु प्रकोपका बेला लामखुट्टे नियन्त्रण गर्नुपर्ने उनको सुझाव छ ।

बिरामी कुर्न आएका विष्णु मुखिया शौचालयहरु पनि व्यवस्थित र सफा नभएको बताउँछन् ।

व्यवस्थित नाला नहुँदा पानी बगेर प्रसुति विभाग जाने बाटोमै जम्ने गरेको छ । यसले गर्दा उक्त बाटो भएर आउजाउ गर्नेहरु समस्यामा पर्ने गरेका छन् ।

अस्पतालका वपरष्ठ फिजिसीयन ड दीपक सिग्देल लाम्खुट्टेको समस्या फोहोरले नभई अस्पतालको दुईवटा पुराना भवनको भग्नावशेसमा जम्ने वर्षाको पानीले गर्दा भएको बताउँछन् ।

पुराना भवन भत्काइएको स्थानलाई समतल बनाएर भवन निर्माण नभएसम्म हाल पार्किङको रुपमा प्रयोग भइरहेको उनको भनाइ छ ।

कोसी अस्पताल विकास समितिका अध्यक्ष महेशप्रसाद भट्टराईले प्रत्येक वार्डमा सफाई कर्मचारी खटाएको बताएका छन् ।

सातापिच्छे भित्र र बाहिरको फोहोरलाई एकैठाउँ व्यवस्थापन गर्ने प्रयास भइरहेको उनले बताए ।

लामखुट्टे नियन्त्रणका लागि बेला बेलामा औषधि स्प्रे गर्ने गरिएको भट्टराईको भनाइ छ ।

कोसी अस्पतालमा दैनिक सयौं बिरामीले सेवा लिन आउँछन् । बिरामीको धेरै चाप हुने भएकाले फोहोर उत्पन्न हुनु स्वाभाविक भएको मेडिकल सुपरिटेन्डेन्ट लक्ष्मीनारायण यादवले बताए ।

फोहोर व्यवस्थापनका लागि प्रविधि प्रयोग गर्ने तयारी भइरहेको उनले जनाएका छन् । यसका लागि तयारी लगभग पूरा भइसकेको यादवको भनाइ छ ।

(प्रशिक्षार्थी)

56
Shares
२९ आश्विन २०७९, शनिबार १०:४७