झापाको झापा गाउँपालिका–१ बाट विभिन्न किसिमका १० बोरा पटका बरामद भएको सशस्त्रले जनाएको छ । सशस्त्र प्रहरी निरीक्षक विभूराज दाहालको नेतृत्वमा खटिएको टोलीले ७ लाख ५० हजार मूल्य बराबरको पटका बरामद गरेको हो ।
त्यस्तै सुनसरीको हरिनगरा गाउँपालिका–१ बाट शुक्रबार सशस्त्र प्रहरीले विभिन्न प्रकारका पटका बरामद गरेको छ । सशस्त्र प्रहरी बल भुटाहाबाट खटिएको प्रहरी निरीक्षक भूपेन्द्रकाजी निरौला नेतृत्वको टोलीले ३५ हजार मूल्य बराबरको पटका बरामद गरेको हो ।बरामद गरिएको पटका नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयको रहोबरमा नष्ट गरिएको छ । कारोबारमा संलग्नले नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै धमाधम पटका नेपाल भित्राउन थालेपछि सशस्त्रले निगरानी बढाएर सीमानाकामा कडाइ गर्न थालेको छ ।
आगामी निर्वाचनतर्फ सुरक्षाकर्मी केन्द्रित हुँदै गर्दा लुकाईछिपाई भारतबाट पटाउन भित्राउने गिरोह सक्रिय भएको छ । तिहार, छठसमेतका पर्वमा पटकाजन्य विष्फोटक पदार्थको कारोबार एवं प्रयोग धेरै हुन्छ । त्यही भएकाले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई छलेर चाडपर्वका बेला नेपाल भित्राउने गरिएको हो ।पटकाको ओसारपसार, किनबेच र प्रयोगमा स्थानीय प्रशासनले रोक लगाएको छ । तर कारोबारमै रोक लगाइएको पटकाजन्य विष्फोटक पदार्थ विभिन्न माध्यमबाट भित्राउने गरेको पाइएपछि नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले विशेष टोली परिचालन गरेका छन् ।
बरामद गरिएको पटका प्रयोगमा ल्याउन नसक्ने हिसाबले नष्ट गर्ने गरिएको सशस्त्रले जनाएको छ । ठूलाठूला आवाजमा पड्किने पटकाले ध्वनी प्रदूषण हुने गरेको छ । पड्काबाट निस्कने झिल्काले आगलागीका घटनासमेत हुने गरेको छ ।
पटकको आवाजले कानमा असर गर्नुका साथै मानवीय र भौतिक क्षतिसमेत निम्तने गरेको छ । डीआईजी गिरीले पटका पड्काएर रमाइलो गर्न खोज्दा क्षति बेहोर्नुपर्ने र ध्वनी प्रदूषणसमेत हुने बताए ।
‘पटकाको आवाजले ध्वनी प्रदूषण हुनुका साथै आगलागी निम्तिन सक्छ । मानिसको शरीरका अंगमा क्षति पुग्छ,’ उनले भने, ‘मानवीय तथा भौतिक क्षति हुन नदिन पटकाको प्रयोगलाई निरुत्साहित गर्ने नीति लिइएको छ । भारतबाट भित्रन नदिन सीमा क्षेत्रमा कडाइ गर्दै उच्च सतर्कता अपनाइएको छ ।’
तिहार लगायतका चाडपर्व र आगामी निर्वाचनलाई समेत लक्षित गरेर अन्य सुरक्षा निकायसँग समन्वय गरी सीमा क्षेत्रमा कडाइ गरिएको डीआईजी गिरीको भनाइ छ । भारतबाट भित्रने पटकाले निर्वाचनमा समेत सुरक्षा चुनौती थपिन सक्ने सुरक्षा विश्लेषण छ ।