विराटनगर । भारतबाट कपडा तस्करी गरेर ल्याउँदै गरेका दुई जनालाई प्रहरीले विराटनगर महानगरपालिका–१६ स्थित उखुबारीबाट शनिबार बिहान पक्राउ गरेको छ ।

भारतको जोगवनीबाट ल्याइएको साढे ४ लाख रूपैयाँभन्दा बढीको कपडासहित विराटनगर–१६ का २२ वर्षीय दिनेश ऋषिदेव र ३५ वर्षीय खेदन यादव पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले भन्सार छलीको कपडासहित ऋषिदेव र यादवलाई बिहान साढे ४ बजेतिर पक्राउ गरेको हो ।

बोरामा प्याक गरेर ल्याइएको कपडा पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाको साथबाट १ सय १० पिस कुर्तासलवार, ५० पिस साडी, २ सय ५ पिस टप्स र २० पिस तन्ना बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार बरामद भएको कपडा ४ लाख ५२ हजार ५ सय मूल्य बराबरको छ । बरामद गरिएको कपडासहित पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु