सरिता कर्मकार
विराटनगर । प्रदेश १ को राजधानी भए पनि विराटनगर महानगरपालिकाका विभिन्न ठाउँहरु दुर्गम गाउँझैं अवस्थामा छन् । केहीबेर पानी परे डुबान हुने अनि भौतिक र कहिलेकाहिँ मानवीय क्षति समेत हुने गरेको छ ।
सडक जलमग्न हुन्छ । नालाको फोहोर पानी सडकको पानीमा गएर मिसिन्छ । यसले गर्दा दुर्गन्ध फैलिएर स्वास्थ्यमा जोखिम पनि हुने गरेको छ ।
विराटनगर महानगरपालिका वडा ८ को यस्तै अवस्था छ । जलमग्न सडकमा आउजाउ गर्न कठिन हुने गरेको छ । सवारी साधान दुर्घटना पनि हुने गरेको छ । मानिसहरु चिप्लिएर लडेका धेरै उदाहरण रहेको स्थानीय बासिन्दा बताउँछन् ।
स्थानीय अच्युत गौतम भन्छन् ‘अहिलेसम्म जति जनप्रतिनिधि आए कसैले चित्तबुझ्दो काम गरेका छैनन्, सडक नालीहरुको व्यवस्थापन गर्ने भन्दाभन्दै पनि काम भने भएको छैन ।’
पानी परेको बेला सडकमा हिंड्न गाह्रो हुने उनले सुनाए । फोहोर व्यवस्थापनका लागि नगरले हप्तामा दुई चोछि गाडी पठाउने गरेको छ । तर चौरीतिर छरपष्ट रुपमा फोहोर फालिने गरेकाले प्रदूषण फैलिएको छ ।
पानी पर्दा घरभित्रै भल पस्ने गरेको स्थानीय शिशिर अधिकारीले बताए । ‘यहाँको फोहोर व्यवस्थापन चित्तबुझ्दो नभएको उनको भनाइ छ ।
कतिपय स्थानीयले चौरीमा जथाभावी फोहोर फाल्ने गरेकाले पनि समस्या भएको उनले सुनाए ।
सोही ठाउँमा तरकारी व्यापार गर्दै आएकी सुनिता राजवंशी भन्छिन् ‘पानी पर्दा हामीलाई व्यापारमा घाटा हुने गरेको छ । ग्राहकहरु अव्यवस्ीिथत बाटोको कारण कम आउने गर्छन् ।’
वडा ८ अध्यक्ष राम पोख्रेल स्थानीय बासिन्दाको समस्या समाधान गर्ने प्रयास भइरहेको बताउँछन् । समस्याको दीर्घकालीन समाधानका लागि योजना बनाउने काम भइरहेको उनले बताए ।
केही हदसम्म फोहोरको व्यवस्थापन गरिसकेको दाबी गर्दै पोख्रेलले भने, ‘सरसफाई अभियान सुरु गरेका थियौं, पहिलेभन्दा अहिले यो वडा निकै स्वच्छ भएको छ स्थानीय बासिन्दाले पनि वडाको लागि भनेर मात्र नभइ मेरो लागि भनेर सरसफाईमा ध्यान पुर्याउन आवश्यक छ ।’
त्यस क्षेत्रमा सडक व्यवस्थित गर्ने काम पनि सुरु भएको छ । कुन्ती इन्जिनियरिङ कन्सक्ट्रसन प्रालिका प्रबन्ध निर्देशक भुपेन्द्र साह भन्छन् ‘हामीले वडा विकासका लागि विस्तृत परियोजना प्रतिवेदन बनाउन सुरु गरिसकेका छौँ, एक सातादेखि दुईवटा टिम बनाएर स्वयंसेवकका रुपमा काम गरिरहेका छौँ ।’
दुईदेखि तीन महिनासम्म प्रतिवेदन तयार गरेर वडा कार्यालयलाई दिइने उनले बताए । ‘हाम्रो उद्देश्य वडालाई सुन्दर र स्वच्छ बनाउनु हो’ साहले भने, ‘यही कुरामा हामी लागि परेका छौँ ।’
(प्रशिक्षार्थी)