परदेशी मायालु!

तिमी गएपछि
जीवन संगीतका अद्भूत आयाम
वाध्ययन्त्रको विस्तारण
रागहरुसँग बहेको रोमानी रहर
यो दिलमा बज्दैन होला
तिम्रो आँखा भएर उठ्ने छालले
मलाई भिजाउँदैन होला
रेशमी स्पर्श र अनुपम सुगन्धबाट टाढिन्छु होला
बुझेर पनि नबुझेझैं हुन्छु बेला बेला!

मसँगै आँगनमा बस भन्न सक्दिन
शिखर पुग्ने, गहिराइ जान्ने बेला यो
तिमीसँगै शहर जान सक्दिन
सय बोट सयपत्री रोपेकी छु यसपटक
जर्सी गाई छन् गोठमा
केही उन्नत बाख्रा, कुखुरा छन् खोरमा।

प्रतिभावान मायालु!
पदक पहिरिएर
मन पग्लिए, चाँडै आउनू
यो छाती तिम्रो अँगालोमा
बाँधिन आतुर हुनेछ
मन नलागे नआउनू, उतै रमाउनु
विल्कुल दुःखी हुने छैन।

मीठा अनुभूति अंकित छन्
हरियो र हुस्सुमा हामी घुमेको
जीवन र जगतका कुरा गरेको
सुन्दरता र सम्पूर्णताको अर्थ बुझेको
मायालु पलका साक्षी छन्
सँगै घुमेका देउराली
डाँडामाथिको आत्मा घर

उकाली ओराली गरेका बाटा।
हरदिन उदाउने सूर्यमा
हाम्रा याद बसेका छन्
तिमी गएपछि,
म टोलाएर बस्ने छैन
गाउँको ओत, गरिखाने अठोट
सयपत्रीका सुनौला बोट
दूध दिने गाई र गोठ
तिमीले चुमेका आफ्नै ओठ
सबै मसँग भलाकुसारी गर्नेछन्।

परदेशी मायालु!
फर्किएर आउनै पर्छ भन्दिन
प्रशंसकको भीडबाट
फुर्सद मिले नरोकिनु, झट्टै आउनू
यो संगीतमय यौवन तिम्रै हो
मन उतै रमाए, कुनै करकाप छैन।

यात्रु मायालु!
पर्खिएर रुनुमा म विश्वास गर्दिन
सिफनको सारी अथवा उपहारको भारी
कुनै भौतिकता आश गर्दिन
आयौ भने म तिम्रै
आएनौ भने म मेरै
सोध्ने जतिलाई भनिदिन्छु
मेरो प्रेमी परदेशमा छ।

बस्तीभरि कामको खात
घाम छउन्जेल मेलापात
रातपरेपछि जुनसँग केहीबेर बात
तिम्रो अप्ठ्यारो यात्रा, उच्च पहिचान
छ मलाइ ज्ञात
सहजै सहन सक्छु कुनै पनि बज्रपात१

गीत–संगीत बुझ्छु
पढ्न, लेख्न जानेकी, हिम्मतिली छु
फर्केर आए, यो जीवनको दरिलो तार
जो बज्नेछ सिर्फ तिम्रो झन्कार
माया बहिरहे
निश्चय आउनु! मिलेछ भने बोलाउनु
थान्को मुन्को गरेर आउँला!

झूठा सपना वा सन्देश कहिल्यै नपठाउनू
आश्वासनका गहन गीत नगाउनू
प्रिय१ मन गर्जिए, वर्षा लिएर आउनू
यो जीवन बीज तिम्रै हो,
सम्भावित हरियाली हाम्रो हुनेछ,
नलागे, उतै खुशी खुशी रमाउनु
विलाप, मेरो शब्दकोशमा छैन
म त एक्काइसौ शताब्दीकी मायालु!

‘अन्तिम आकाश’ संग्रहबाट

1.23k
Shares
२९ आश्विन २०७९, शनिबार ०६:३४