विराटनगर । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुलाई हटाएका छन् ।

हटाइएकामा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह, खानेपानी तथा ऊर्जा मन्त्री ओमप्रकाश शर्मा छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चारजना मन्त्रीलाई बर्खास्त गरेपछि जसपा नेतृत्वको मधेस प्रदेश सरकारका मुख्यमन्त्री राउतले कांग्रेसका तीन मन्त्रीलाई हटाएका हुन् ।

मुख्यमन्त्री राउतले उनीहरुसँग राजीनामा माग गरेका थिए । राजीनामा दिन अस्वीकार गरेपछि गरेपछि उनीहरूलाई बर्खास्त गरेका हुन् ।

माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का मन्त्री भने यथावत् छन् ।

मधेस प्रदेश सरकारमा माओवादी केन्द्रका राज्यमन्त्रीसहित दुई र नेकपा एकीकृत समाजवादीका राज्यमन्त्रीसहित दुई मन्त्री सहभागी छन् ।

माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह, राज्यमन्त्री रुवी कर्ण र नेकपा एसको तर्फबाट उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोदकुमार यादव छन् ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए ।

निर्वाचनका क्रममा सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तातमेल गरेका जसपाका चारजना मन्त्रीहरूलाई देउवाले बिहीबार बर्खास्त गरेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादव बर्खास्तीमा परेका हुन् ।

उनीहरुले सम्हाल्दै आएका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले नै सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु