पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशलामा नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ ।
शुक्रबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गरिएको हो । ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको रहेको प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गरेका थिए ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तालिका भए पनि अस्वस्थताका कारण उपराष्ट्रपति उपस्थित हुन सकिनन् ।
प्रतियोगितामा गण्डकी प्रदेशका ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गरेका थिए । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले झण्डात्तोलन
गरे ।
उद्घाटन समारोहमा सहभागिता जनाउने ११ टिमले मार्चपास गरेका थिए । त्यसबाहेक झाँकी, नृत्य, गायन लगायत आतिसबाजी गरिएको थियो ।
कोभिड महामारी लगायत विविध कारणले ४ वर्षपछि धकेलिएको प्रतियोगिता गण्डकीमा ३९ वर्षपछि आयोजना भएको हो ।
यसअघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको थियो । यसपटक अधिकांश खेलहरु पोखरा रंगशालामा हुनेछन् ।
११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
यसपटक विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाउँदै छन् ।