गगन नुनिया

विराटनगर । समाजसेवी एवं उद्योगी दिनबन्धु गोयलको शुक्रबार विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गोयललाई नागरिकका तर्फबाट अभिनन्दन गरेका हुन् ।

समाजसेवी गोयलकी श्रीमती उषामती देवी गोयललाई पनि अभिनन्दन समारोहमा सम्मान गरिएको थियो ।

उद्योग, व्यापारबाट भएको आम्दानीको अंश सामाजिक क्षेत्रमा पनि खर्च गरिरहेका छन् । ७५ वर्षीय गोयलले झापादेखि काठमाडौंसम्मका दर्जनौं संस्थालाई निरन्तर सहयोग गरिरहेका छन् ।

यसैगरी गोयलले बिरामी, शैक्षिक संस्था, शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउँदै आएका छन् ।

नागरिक अभिनन्दन समिति गठन गरेर यहाँका सामाजिक क्षेत्रका व्यक्तिहरुले यो कार्यक्रम आयोजना गरेका थिए । यसका लागि मोरङ व्यापार संघका पूर्वअध्यक्ष सुरेशकुमार शर्माको अध्यक्षतामा अभिनन्दन समिति गठन गरिएको थियो ।

झापा, मोरङ, धनकुटा, सुनसरी, तेह्रथुम, ललितपुरलगायत जिल्लामा दुई दशकदेखि सामाजिक क्षेत्रमा क्रियाशील गोयलको योगदानलाई कदर गर्दै अभिनन्दन गरिएको हो ।

झापाको भद्रपुरमा जन्मिएका गोयल लामो समयदेखि सामाजिक, धार्मिक र शैक्षिक क्षेत्रमा क्रियाशील छन् । गोयलले झापाका विभिन्न क्षेत्रमा सात सयभन्दा बढी असहाय बालबालिकाका लागि छात्रवृत्ति प्रदान गरेका छन् ।

यसैगरी विपन्न समुदायका विद्यार्थीहरुका लागि शैक्षिक सामग्री पनि सहयोग दिंदै आएका छन् । जेष्ठ नागरिक, एकल महिला र समुदायका अरु वर्गलाई पनि गोयलले समय समयमा सहयोग गर्दै आएका छन् ।

सामाजिक, शैक्षिकलगायत क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै गोयलको अभिनन्दन गरिएको समितिका सदस्य, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं प्रदेश नम्बर १ समितिका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले बताए ।

झापा, भद्रपुरको गौशाला, गणेश मन्दिर, मोरङ, रंगेलीको गौशाला, विराटनगरस्थित श्रीकृष्ण गौ सेवा सदन, इटहरीको अनाथाश्रम, विराटेश्वर वृद्धाश्रम, विश्रान्ति मन्दिर मूलघाट, धनकुटालगायत संस्थालाई उनले भरथेग गर्दै आएका छन् ।

यसैगरी काठमाडौंको अनाथाश्रम, विराटनगरको अष्ट चिरञ्जीवी मन्दिर, राधाकृष्ण मन्दिर, काली मन्दिर, कन्काइ धामको लक्ष्मीनारायण मन्दिर, उर्लाबारीको हनुमान ट्रष्ट, झापाको मारबाडी समाज, नेपाल हृदयरोग निवारण प्रतिष्ठानलगायत विभिन्न संस्थालाई उनले सहयोग पुर्याउँदै आएका छन् ।

अभिनन्दनका लागि १७ सदस्यीय कार्य व्यवस्थापन समिति, १३ सदस्यीय सल्लाहकार समिति र ४७५ सदस्यीय मूल समारोह समिति गठन गरिएको थियो ।

(प्रशिक्षार्थी)

105
Shares
२८ आश्विन २०७९, शुक्रबार १८:२३