पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा सेमिफाइनल समिकरण पुरा भएको छ ।

सेमिफाइनलमा गण्डकी, लुम्बिनी, आर्मी र एपीएफले सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

समूह ए बाट गण्डकी र नेपाली सेनाले अन्तिम ४ मा स्थान बनाएको हो । समूह ए मा गण्डकीले समूह विजेता बन्दै सेमिमा स्थान बनाएको हो ।

गण्डकी र सेनाको अंक समान भए पश्चात गोल अन्तरका आधारमा गण्डकी समूह विजेता बनेको हो । त्यस्तै, समूह बी बाट सशस्त्र र लुम्बिनीले अन्तिम ४ मा स्थान बनाएको हो । सशस्त्रले समूह विजेता र लुम्बिनीले उपविजेता बन्दै सेमिफाइनलमा स्थानबनाएको हो ।

महिलातर्फ समूह ए बाट एपिएफ र गण्डकी प्रदेश समूह विजेता र उपबिजेता बन्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । अब सेमिफाइनलमा एफिएफले समूह बीको उपबिजेता प्रदेश १ को सामना गर्नेछ भने गण्डकी प्रदेशले समूह बीको बिजेता नेपाली सेनासँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

बिहीबार पोखरा बहुउद्देश्यीय कभर्डहलमा भएको पुरुष ह्याण्डबल प्रतियोगितामा गण्डकी प्रदेश र नेपाली सेनाले बराबरी खेल्यो ।

गण्डकी र सेनाले २७–२७ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । गण्डकीका दिनेश श्रेष्ठ, प्रेमबहादुर गुरुङ्ग र बासु गुरुङ्ग तथा नेपाली सेनाका यामबहादुर पुन मगर र निर्मल बाबु श्रेष्ठ प्रत्येकले ६÷६ गोल गरे ।

पुरुषकै दोश्रो खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ४१–१५ गोल अन्तरले पराजित गर्न सफल भयो । कर्णालीका लागि केशव बिष्टले सर्वाधिक १३ गोल गरे ।

पुरुषकै अर्को खेलमा सशस्त्र प्रहरी बलले सुदूरपश्चिम प्रदेशलाई ३५–१९ ले पराजित ग¥यो । एपिएफका सुरेश आले मगरले ११ गोल गरे ।

महिला तर्फको खेलमा कर्णाली प्रदेशले जित निकाल्यो । कर्णालीले बागमती प्रदेशलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । कर्णालीकी संगिता सिंहले ४ गोल गरिन् ।

यस्तै प्रदेश १ ले मधेस प्रदेशलाई १९–४ गोल अन्तरले पराजित गर्यो । प्रदेश १ की प्रेक्षा कटुवालले ८ गोल गरिन् । महिलाकै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीचको खेलमा गण्डकीले बाजी मार्यो ।

गण्डकीले ३५–९ को गोल अन्तरले लुम्बिनीलाई पराजित गरेको हो । गण्डकीकी आकृति गुरुङ्गले ७ गोल गरिन् ।

महिला क्रिकेट: एपीएफ र मधेश प्रदेश विजयी

नवौं राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत विहीबार सशस्त्र प्रहरी बलको एपिएफ र मधेश प्रदेश बिजयी भएका छन् । विहीबारको पहिलो खेलमा एपिएफले गण्डकी प्रदेशलाई र दोश्रो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै विजयी भएका हुन् ।

विहीबारको पहिलो खेलमा एपीएफ क्लवले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्यो । पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपीएफले १ सय ६ बल बाँकि रहँदै प्राप्त गर्यो ।

एपीएफको तर्फबाट सीता राना मगरले ५ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडिन् । इन्दु बर्माले ३ बलमा २ चौका सहित ९ रन जोडिन् ।

खराब लयबाट गुज्रिइरहेको गण्डकीले पहिला व्याटिङ गर्दै १८।२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २६ रन बनाएको थियो । गण्डकीका कुनै पनि खेलाडीले दोहोरा आँकडाको योगफल तयार पार्न सकेनन् । श्रृष्टि जैशिले बनाएको ५ रननै गण्डकीको सर्वाधिक बन्न पुग्यो ।

एपीएफको बलिङमा प्लेयर अफ द म्याच इन्दु बर्माले ३ ओभरमा ४ रन खर्चिएर २ विकेट लिइन् । त्यस्तै, सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सिता रानामगरले १–१ किवेट लिए । गण्डकीका सृष्टि जैशीले १ विकेट लिइन् ।

जितसँगै एपीएफ ग्रुप ए को शिर्षस्थानमा पुगेको छ । एपीएफले दुई खेलमा दुई जित हाँसिल गर्दै ४ अंक जोडेको छ ।

विहीबार भएको दोश्रो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गर्दै विजयी भयो । पहिले व्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रनको योगफल तयार गर्यो ।

९२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सुदूरपश्चिम प्रदेशले ८ विकेट गुमाएर ७६ रन मात्र बनाएपछि मधेश प्रदेश विजयी भएको हो ।

विहीबारको खेलमा मधेश प्रदेशका सना प्रविन प्लेयर अफ दी म्याच घोषित भइन् । उनले मधेशका लागि ३५ रनको योगदान दिइन् । त्यस्तै गोमा आलेले १० रन बनाइन् ।

मधेशका सन्तोषी चौधरी, शान्ती चौधरी र अनुराधा चौधरीले समान २÷२ विकेट हत्याए ।

सुदूरपश्चिमका लागि ऋतु कनौजियाले २७, रुवी पोद्दारले १२ तथा यशोदा विष्टले ११ रनको योगदान दिए ।

पुरुष हक्कीमा आर्मीको बिजयी सुरुवात

गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौंं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको पुरुष हक्की खेलमा नेपाल आर्मीले बिजयी शुरुवात गरेको छ । पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा भएको पुरुष हक्कीतर्फको उद्घाटन खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको नवौं मिनेटमा आर्मीका लागि राजेन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाए । २८ औं मिनेटमा कार्कीले नै दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ३७ औं मिनेटमा प्रदीप राजवंशीले तेश्रो गोल गरे भने ४२ औं मिनेटमा रोमन रानाले गोल गर्दै आर्मीलाई ४–० को फराकिलो जित दिलाएका हुन् ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गरेका थिए । प्रतियोगिताको उद्धघाटन गर्दै मन्त्री गहतराजले खेलकुद विकासका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

महिला भलिबलमा गण्डकी प्रदेशको विजयी सुरुवात

नवौं राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा भएको महिला भलिवल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।

गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई सोझो ३–० सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

भलिवलप्रेमी दर्शकको भिडका बिच भएको भएको गण्डकीले सुदुरपश्चिम प्रदेश माथि २५–१८, २५–०८, २५– २२ को जित निकालेको थिए ।

गण्डकी प्रदेशको कप्तानी राष्ट्रिय महिला भलिवल टिमकी कप्तान अरुणा शाहीले गरेकी थिईन । भने सुदुरपश्चिम प्रदेशको कप्तानी बलारती जोशीले गरेकी थिइन् ।

महिला भलिबलमा सात प्रदेश ३ विभागिय नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका टीमका खेलाडीहरूको सहभागिता रहेको थियो । शुक्रबार महिला भलिबल अन्तरगत तीन खेल हुदै छन् ।

असोज २८ गते शुक्रबार बिहान ८ बजे समुह १ को शसस्त्र प्रहरी र कर्णाली प्रदेश, १० बजे समुह २ को बाग्मती र प्रदेश १ र २ बजे तेस्रो समूहको नेपाल पुलिस क्लव र लुम्बिनी बिच हुने महिला भलिबल प्रतियोगिताका संयोजक याम बहादुर गुरुङले जानकारी दिए ।

महिला भलिबल र तेक्वान्दोको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरेका थिए । खेलाडीको स्वागतमा बेनी बजारमा बाजागाजा, झाँकी सहितको र्याली निकालिएको थियो ।

पुरुष फुटबलमा एनआरएनए र बागमतीको बिजयी शुरुवात

गण्डकी प्रदेशमा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) र बागमती प्रदेशले बिजयी शुरुवात गरेका छन् ।

पोखराको याम्दीस्थित गोष्तेघाट खेलमैदानमा विहीबारदेखि शुरु भएको खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–० गोल अन्तरले पराजित गर्दै बिजयी शुरुवात गरेको हो ।

एनआरएनएको जितमा संजोग राई र विमल घर्तीमगरले गोल गरे । संजोगले खेलको नवौं मिनेटमा गोल गर्दै एनआरएनएको खाता खोलेका थिए । समय घटाएर ७० मिनटमा झारेको प्रतियोगिताको दोश्रो गोल भने विमलले दोश्रो हाफको दशौं मिनेटमा गरेका थिए ।

पुरुष तर्फको दोश्रो खेलमा बागमतीले मधेस प्रदेशलाई २–० गोल अन्तरले पराजित गर्दै महत्वपूणै ३ अंक जोडेको छ ।

बागमतीका सुनिल बलले दोश्रो हाफको चौथो मिनटमा र अन्जन बिष्टले १० औं मिनटमा गोल गर्दै टिमका लागि महत्वपूर्ण अंक जोडे ।

स्याङजाको वालिङमा बिहीबार सुरु भएको महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा रेखा पौडेलको ह्याट्रिक प्रेरित पुलिसले बागमती प्रदेशमाथि ५–० को जित हासिल गर्यो । टोलीका लागि निरु थापाले दुई गोल गरिन ।

१७ औं मिनेटमा निरुले गोल गर्दै दिलाएको अग्रतालाई रेखाले १८औं मिनेटमा दोब्बर पारिन । त्यसको तीन मिनेटपछि दोस्रो व्यक्तिगत गोल गरेकी रेखाले २३औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन । निरुले दोस्रो व्यक्तिगत गोल मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा गरेकी थिइन् ।

जितपछि पुलिसले समूह ‘ए’मा अंकको खाता खोलेको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत महिला फुटबलको दोस्रो खेलमा बिभागीय टिम नेपाल आर्मीले सहज जित निकालेको छ । स्याङजाको वालिङमा भएको खेलमा आर्मीले मधेश प्रदेशलाई ६–० गोल अन्तरले पराजित गरेको हो ।

आर्मीले खेलको ९ औ मिनेटमा इन्दिरा राईको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा पुनः गोल गर्दै इन्दिराले अग्रता दोब्बर पारिन् ।

पहिलो हाफमा दुई गोलले अगाडि रहेको आर्मीलाई खेलको ५२ औ मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै ३–० को स्थितिमा पुर्याइन् । खेलको ५५ औ मिनेटमा चन्द्रा भण्डारीको पासमा कुस्मा खतिवडाले गोल गरिन् ।

चौथो गोल गरेको दुई मिनेटमै अमिसा कार्कीले मैदानको मध्य भागबाट एक्लै गोलकिपरलाई विट गर्दै गोल गरिन् । कार्की खेलको ४६ औ मिनेटमा मैदानमा प्रवेश गरेकी थिइन् ।

इन्दिरा राईको ठाउँमा ६७ औं मिनेटमा मैदान प्रवेश गरेकी हिमा चौधरीले उत्तरार्धको इन्जुरी टाईमको एक मिनेटमा गोल गर्दै आर्मीको जित सुनिश्चित गरिन् । मधेश प्रदेशले भने पाएका अवसर खेर फाल्यो ।

बिहिबारबाट स्याङजा वालिङ स्थित मालेबगर खेल मैदानमा सुरु भएको महिला फुटबलमा सात प्रदेश र तीन बिभागिय टोलीको सहभागीता रहेको छ ।

फेन्सिङ्गः चौथो दिन एपिएफ र सेनालाई स्वर्ण

फेन्सिङ्ग महिला टिम फ्वाईलमा एपिएफले स्वर्ण जित्यो । एपिएफले बागमतीलाई पराजित गर्दै स्वर्ण जितेको हो । एफिएफले बागमतीलाई ४५–३६ ले पराजित गरेको हो । नेपाली सेना र गण्डकीले कास्य पदक पाए ।

पुरुषको सेवर तर्फ सेनाले जित निकाल्यो । सेनाले बामतीलाई ४५–२४ अंकले पराजित गर्दै स्वर्ण जितेको हो । सेनाले स्वर्ण संख्या ४ बनायो । तेश्रो स्थानमा एपिएफ र गण्डकी रहे ।

प्रतियोगिताको प्राविधिक कारणले रोकिएको पुरुष ईपीको खेल शुक्रबार बिहान हुने प्रतियोगिताका निर्णायक अनुप कपालीले जानकारी गराए ।

विजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

अंक तालिका

नेपाली सेनाः ४ स्वर्ण ६ रजत ७ कास्य
बामती प्रदेशः ४ स्वर्ण ३ रजत ० कास्य
एपिएफः २ स्वर्ण ३ रजत ७ कास्य
सुदूरपश्चिमः १ स्वर्ण ० रजत ३ कास्य
नेपाल पुलिसः १ स्वर्ण ० रजत ० कास्य
गण्डकी प्रदेशः ० स्वर्ण ० रजत ३ कास्य
प्रदेश १ः ० स्वर्ण ० रजत ३ कास्य

21
Shares
२८ आश्विन २०७९, शुक्रबार ०७:४५