रस्मी थापा
विराटनगर । निरन्तर वर्षाको असरले खेतबारीको तरकारीमा नोक्सानी भएको छ । यसले गर्दा बजारमा तरकारीको मूल्य पनि बढेको छ ।
मनसुन बाहिरिने बेला मोरङलगायत विभिन्न क्षेत्रमा ठूलो वर्षा भएको थियो । दुई दिन अघिसम्म भएको वर्षाका कारण तरकारी र अरु बालीमा पनि क्षति पुगेको छ ।
कम परिमाणमा बजारमा आइपुग्ने तरकारीको मूल्य बढेको हो ।
बिराटनगरस्थित गुद्रीका तरकारी व्यापारी रामकुमार मण्डल भन्छन्, पानी परेकै कारण पनि भाउ तलमाथि हुने गरेको हो । मौसमको कारण बेलामा तरकारी आउन गाह्रो हुन्छ, भनेको समयमा आउँदैन ।’
आए पनि तरकारी कतिपय राम्रो नहुने, पानीले कुटेर गुणस्तर बिग्रने गरेको उनले सुनाए ।
कतिपय तरकारी गाउँबाट आइपुग्दा गलेको अवस्थामा हुने पनि उनले बताए । ताजाजस्तो नदेखिने हुँदा उपभोक्ताले सहज रुपमा लिन नचाहने गरेको उनको भनाइ छ ।
थोरै परिमाणमा आउने तरकारीको मूल्य बढी तिर्नुपर्ने भएकाले उपभोक्तालाई पनि केही बढी मूल्यमा बेच्नु परेको व्यवसायीले बताएका छन् ।
निरन्तर वर्षाका कारण धेरैजसो तरकारी नष्ट हुने गरेको छ । लगानी गरेको रकमको आधाभन्दा बढी घाटा हुने गरेको उनीहरुको दाबी छ ।
गत साताभन्दा तरकारीको मूल्य केही दिनयता बढेको छ । चाडपर्वका बेला माग बढी हुने भएकाले झनै मूल्य बढ्ने अवस्था छ ।
दुई दिनअघि किलोको ४० रुपैयाँमा लिएको बैगुन अहिले ६० देखि ८० रुपैयाँमा किनबेच भइरहेको छ ।
परवल अहिले प्रतिकिलो १२०, ६० को करेला ८० रुपैयाँमा मात्र पाइने प्रभा थापाले बताइन् ।
उपभोक्ता अन्जु राईले भन्छिन् ‘यसरी भाउ बढ्दा समस्या हुने बताउँछिन् । पहिला एक हजार रुपैयाँको तरकारीले एक हप्ता पुग्ने गरेको उल्लेख गर्दै राईले अचेल भने दुई दिन पनि नपुग्ने बताइन् ।
घरमा धेरै चाहिने मुख्य कुरा नै तरकारी भएकाले यसमा खर्च निकै हुने गरेको उपभोक्ताहरुको भनाइ छ ।
(प्रशिक्षार्थी)