पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक सुरुवात शुक्रबार हुँदैछ । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने प्रतियोगितामा कुल ११ टिमका ६ हजार १ सय २ खेलाडीले ४ सय ४ स्वर्णका लागि प्रतिस्पर्धा गर्दैछन् । यस्तोमा उद्घाटन अघिनै केही खेलमा स्वर्णको तय भइसकेको छ ।
चार वर्षपछि हुन लागेको प्रतियोगिता गण्डकीमा भने २०४० सालपछि हुन लागेको हो । ३९ वर्षपछि गण्डकीमा फर्किएको राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेलहरु पोखरा रंगशालामा हुँदैछ । गण्डकी प्रदेशका अन्य विभिन्न जिल्लामा समेत केही खेलका प्रतिस्पर्धा हुँदा अधिकांश खेल भने पोखरा रंगशाला हातामा नै हुँदैछन् ।
यो पटक राष्ट्रिय खेलकुदमा विभागीय तीन टिम (पुलिस, एपीएफ र आर्मी)सहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले विभिन्न ३६ खेलका ४ सय ४ इभेन्टमा प्रतिस्पर्धा गर्दैछन् ।
अधिकांश खेलाडी तथा खेलसम्बद्ध पदाधिकारीहरु गण्डकी प्रदेश आइसकेको सदस्य सिचव टंकलाल घिसिङले जानकारी दिए । उनले भने, ‘राष्ट्रिय खेलकुदको यो उत्सवको उद्घाटनअघि सबै तयारी पूरा भएको छ । यो समयमा हामीलाई मौसमले केही प्रतिकूल अवस्था सिर्जना गरे पनि खेलाडीका लागि सर्वाधिक अर्थपूर्ण प्रतयोगिताको तयारी पूरा भएको छ ।’
घिसिङले आफू नियुक्त भएको छोटो समयमा नै महत्वपूर्ण प्रतियोगिता सम्पन्न गर्न लागेको भन्दै सबै पक्षको सहयोगमा सफलता हात पार्न लागेको बताए ।
घिसिङले यो प्रतियोगिताले केही खेलाडीहरुको उदय हुनसके त्यो सफलता हुने बताए । उनले भने, ‘खेलाडीका लागि महत्वपूर्ण प्रतियोगिता हो । यहाँ कुन पधाधिकारीले के भन्छ या गर्छ भन्ने कुराले अर्थ राख्दैन । शिर्ष १०, ५० र १०० खेलाडीहरु को–को हुन्छन् भन्ने कुरा महत्वपूर्ण हो ।’
शुक्रबार उद्घाटन हुने प्रतियोगिताका लागि उपराष्ट्रपति नन्दबहादुर पुन बिहीबार पोखरा आइसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले भने स्वस्थ्यको कारण देखाउँदै उपस्थित हुन नसक्ने सन्देश पठाएकी छन् ।