विराटनगर । मंसिर ४ गते हुने प्रदेशसभाको दोस्रो निर्वाचनमा मोरङमा युवाहरुको उम्मेदवारीले चहलपहल बढाएको छ । १२ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको जिल्लामा ३३ स्वतन्त्रसहित ११८ जनाले उम्मेदवारी दिएका छन् ।

प्रमुख निर्वाचन दलबाट प्रभावशाली युवा नेताहरुले अबसर पाएका छन् । उनीहरुको चुनावी अभियानका कारण हरेक क्षेत्र चहलपहलयुक्त बनिरहेको छ ।

मोरङको १ (क) मा सत्तारुढ गठबन्धनबाट निवर्तमान प्रदेश सांसद माओवादी केन्द्रका कुलप्रसाद साम्बा र एमालेबाट उमाकान्त गौतमले उम्मेदवारी दिएका छन् ।

उक्त क्षेत्रमा दुई स्वतन्त्रसहित ७ जनाले उम्मेदवारी दिएका छन् । गौतम पहिलो पटक प्रदेशसभामा उम्मेदवार भएका हुन् । मोरङ १ (ख) मा सत्तारुढ गठबन्धनबाट नेकपा (एकिकृत समाजवादी) बाट यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे र एमालेबाट पूर्वजिल्ला विकास समितिका सभापति खडगबहादुर बस्नेतसहित ८ जनाले उम्मेदवारी दिएका छन् । दुईजना स्वतन्त्रबाट उम्मेदवार बनेका छन् ।

मोरङ क्षेत्र २ (क) मा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका प्रदेश सचिव गणेशप्रसाद उप्रेती र एमालेबाट दानबहादुर कार्कीसहित १२ जनाले उम्मेदवारी दिएका छन् ।

उप्रेती पहिलो प्रदेशसभा निर्वाचनमा कांग्रेसका शिवनारायण गनगाईसँग पराजित भएका थिए । यसपटक उक्त क्षेत्र माओवादीको भागमा परेपछि गनगाई उम्मेदवार हुनबाट बञ्चित भएका हुन् ।

एमालेका कार्की नयाँ अनुहार हुन् । क्षेत्र २ (ख) मा निवर्तमान प्रदेश सांसद एमालेका लिलाबल्लभ अधिकारी र सत्तारुढ गठबन्धनबाट कांग्रेसका बिनोद कार्कीसहित ९ जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै, मोरङ ३ (क) मा वन, वातावरण तथा भू–संरक्षणमन्त्री कांग्रेसका शेखरचन्द्र थापा र एमालेका पथरीशनिश्चरे नगरपालिकाका पूर्वप्रमुख दिलिपकुमार राईसहित ७ जनाले उम्मेदवारी दिएका छन् ।

क्षेत्र ३ (ख) मा गठबन्धन दलबाट नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमार श्रेष्ठ र एमालेबाट बेलबारी नगरपालिकाका पूर्वमेयर ज्ञानेन्द्र बस्नेतसहित १५ जनाले उम्मेदवारी दिएका छन् ।

मोरङ ४ (क) मा कांग्रेसका युवा नेता गुरुराज घिमिरे र एमालेका जयप्रकाश चौधरीसहित ७ जनाले उम्मेदवारी दिएका छन् । थारु बाहुल्य उक्त क्षेत्रमा एमालेबाट चौधरी र कांग्रेसका प्रभावशाली नेता घिमिरे बीचको प्रतिस्पर्धाले चुनावी रौनक बढेको छ ।

मोरङ ४ (ख) मा निवर्तमान प्रदेश सांसद एमालेका जीवन घिमिरे र विराटनगर महानगरका पूर्वमेयर भीम पराजुलीसहित १० जनाले उम्मेदवारी दिएका छन् ।

क्षेत्र ५ (क) मा कांग्रेसका गयानन्द मण्डल र एमालेका सन्तोषकुमार साहसहित ६ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र ५ (ख) मा स्वास्थ्यमन्त्री जनता समाजवादी पार्टीका जयराम यादवले एमाले गठबन्धनबाट र संविधानसभा सदस्य कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याललगायत १० जनाले उम्मेदवारी दिएका छन् ।

मोरङ ६ (क) मा गठबन्धन दलबाट माओवादी केन्द्रका जीवन आचार्य र एमालेबाट रिता न्यौपानेलगायत १३ जनाले उम्मेदवारी दिएका छन् ।

क्षेत्र ६ (ख) मा कांग्रेसबाट आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की र एमालेका पर्शुराम बस्नेत (कृष्ण) लगायत १४ जनाले उम्मेदवारी दिएका छन् ।

मन्त्री र निवर्तमान प्रदेश सांसद बाहेक अधिकांश प्रभावशाली युवा उम्मेदवारहरु पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रेकाले मतदाताहरुसमेत उत्साहित देखिएका छन् ।

राजनीतिक विश्लेषक प्राध्यापक भेषप्रसाद धमलाले पटकपटक निर्वाचित हुँदै आएका पुरातनवादी उम्मेदवारहरु भन्दा नयाँ सोचका साथ देश र जनताका लागि केही गर्ने उद्देश्यले प्रदेशसभामा प्रभावशाली युवा नेताहरुले उम्मेदवारी दिएकाले प्रदेशवासी उत्साहित देखिएको बताए ।

प्रभावशाली युवाहरुको चुनावी प्रतिस्पर्धाले संघीयताप्रतिको नकारात्मक धारणामा समेत कम हुने उनको भनाई छ ।

70
Shares
२८ आश्विन २०७९, शुक्रबार ०६:२७