बोर्डका सदस्यसचिव हंशराज वाग्लेले एनआरएनए (गैरआवासीय नेपाली संघ) को टोलीले मुलुकभित्रकै खेलाडी खेलाउनु आपत्तिजनक भएको बताएका छन् ।
पोखरा रंगशालामा बिहीबार प्रदेश १ विरुद्ध भएको खेलमा एनआरएनको टोली २–० ले विजयी भएको थियो । त्यसमा राष्ट्रिय टोली एवं रुपन्देहीका विमल घर्तीमगर र झापाका संजोग राईले गोल गरेका थिए ।खेलाडीलाई समेत सचेत गराउँदै सदस्यसचिव वाग्लेले भने, ‘प्रदेशलाई धोका दिएर अन्यत्रबाट खेल्ने हो भने हामी पनि एक्सनमा आउँछौँ । हामीले खेलाडीलाई उपलब्ध गराएको पाँच वर्षीय निःशुल्क औषधोपचारको सेवा फिर्ता लिनेछाँ। उहाँहरूलाई सेवाबाट अलग गर्नेछौँ ।’
जिल्ला र प्रदेश छनोटका क्रममा फुटबलका खेलाडी राष्ट्रिय टोलीमा थिए । खेलाडीले प्रदेश १ लाई छाडेर अन्यत्र खेल्नुले असहजता महसुस गरेको उनले बताए ।एनआरएन टोलीविरुद्ध ‘प्रोटेस्ट’ गर्ने जनाएका सदस्य–सचिव वाग्लेले भने, ‘प्रक्रिया मिचेर सहभागी टोलीविरुद्ध राष्ट्रिय खेलकुद परिषद् र एन्फामा जानकारी गराउनेछाँ । कारबाहीको माग गर्नेछाँ । एनएआरएनका लागि कम्तीमा १ सय ८० दिन विदेशमा बसेको हुनुपर्छ । त्यो प्रक्रिया पूरा नगरी यतैको खेलाडी स्पर्धा गराउने हो भने एनआरएनएको अर्थ के रहला ?’
अर्कोतर्फ, एनआरएन टोलीका प्रमुख प्रशिक्षक आशिक थापा मगरले आफूहरू नवौंमा राम्रो खेल्न आएको बताए ।
बेलायतबाट खेलाडी आउनुपर्नेमा अन्तिम समयमा कार्यक्रम रद्द भएपछि यतैको खेलाडी राखिएको बताएका प्रशिक्षक मगरले भने, ‘अहिले पनि टोलीमा ५ जना मलेसियामा रहेका खेलाडी छन् ।
आजको खेलमा ३ जना विदेशी खेलाडी नै खेलेका थिए। अब युकेबाट आउने खेलाडीले अन्तिम समयमा कार्यक्रम रद्द गरेपछि परिस्थिति फरक परेको हो ।’
त्यसैगरी, नवौं राष्ट्रिय खेलकुद सचिवालयका पदाधिकारी फडिन्द्र पौडेलले प्रदेश १ र एनआरएनएको विषयमा जानकारीमा आएको बताए ।
राष्ट्रिय खेलकुद सञ्चालन विधिअन्तर्गत खेलकुद हुनुपर्नेमा जोड दिएका पौडेलले घटनाबारे सम्बन्धित निकायले आवश्यक अध्ययन गरी अघि बढ्ने जानकारी दिए ।
आफ्नै प्रदेशका खेलाडीले विपक्षमा खेल्नु भन्दा पनि कार्यक्रम आयोजना गरिरहेको राष्ट्रिय खेलकुद परिषद् मौन हुनु आपत्तिजनक भएको नेपाल लोकतान्त्रिक खेलकुद संघ प्रदेश १ का संयोजक वसन्तराज अर्यालले बताए ।
नवौं राष्ट्रिय खेलकुदमा खेलभन्दा पनि बढी व्यवस्थापन हुन नसक्दा कमजोरी भएको उनले बताए । उनले भने, ‘परिषद्ले टोली र खेलाडीबारे प्रस्ट नभइदिँदा समस्या भएको छ। अर्कोतर्फ, प्रदेशबाट गएको फुटबलको टोलीमा प्रशिक्षकलाई टोली व्यवस्थापकको भूमिका दिइएको छ। यसरी खेलकुद कुन स्तरमा गर्दै छौं हामी पनि उत्तर खोजिरहेका छौँ।’
प्रदेश १ विरुद्धको खेलमा एनआरएनए स्पोर्टसबाट प्रदेश १ का निशान खड्का, मोरङका अशोक खवास, धनकुटाका सुजल श्रेष्ठ, झापाका संजोग राई, अनन्त तामाङ, पुजन उपरकोटी, विशाल राई छन् । जित हात पारेको एनआरएनए स्पोर्टस एकेडेमीले आइतबार गण्डकीविरुद्ध स्पर्धा गर्नेछ ।