सतिसकुमार राजवंशी

विराटनगर । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नो समुदायको प्रतिनिधित्व नगराएको भन्दै राजवंशी समाज उत्थान समिति (विराट) ले असन्तुष्टि जनाएको छ ।

निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्फ विराट राजवंशीको कुनै प्रतिनिधित्व नभएको भन्दै राजवंशी समुदाय असन्तुष्ट बनेको हो ।

बिहीबार पत्रकार सम्मेलनमार्फत विराट राजवंशी युवा समितिका केन्द्रीय अध्यक्ष बिक्रम राजवंशीले निर्वाचनमा प्रतिनिधित्व नगराएर समुदायलाई नै बेवास्ता गरिएको बताए ।

समितिका केन्द्रीय उपाध्यक्ष प्रदिपकुमार विश्वासले प्रमुख दलहरुको व्यवहारका कारण लाखौं विराट राजवंशीहरुको चित्त दुखेको बताए ।

विराट राजवंशीको संख्या मोरङमा मात्र ४० हजार रहेको तर जिल्लाका ६ वटा प्रतिनिधिसभा तथा १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्रबाट राजवंशी प्रतिनिधिलाई अवसर नदिइएको विश्वासले बताए । दलहरु केवल परिवारवाद, नातावाद, कृपावाद शैलीमा लिप्त देखिएको उनको आरोप छ ।

केन्द्रीय सचिव वसन्त राजवंशी राप्रपा नेपालका केन्द्रिय पारसद सदस्य रहेको र आफूले पार्टीमा निरन्तर ३० वर्षदेखि योगदान दिएको बताए । यसपालि उनले प्रत्यक्षतर्फ लड्ने तयारी गर्दा पार्टीले समानुपातिकमा नाम समावेश गर्ने आश्वासन दिए पनि नराखिएको गुनासो गरे ।

संविधानको भाग ८ धारा ८४ को उपधारा २ मा गरीएको समानुपातिक निर्वाचन प्रणालीबमोजिम आदिवासी जनजाति तर्फबाट कुनै पनि राष्ट्रिय पार्टीले विराट राजवंशी समुदायलाई समेटेर नाम सिफारिस नगर्दा संविधानको मर्मविपरीत काम भएको उनीहरुको भनाइ छ ।

आफूहरुमाथि भएको अन्यायका विरुद्ध पार्टीहरुलाई असहयोग गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।

(प्रशिक्षार्थी)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु