विराटनगर । कोसी नदीको पुलबाट हाम फालेर आत्महत्या गर्न खोज्नेको संख्या बढेको पाइएपछि प्रहरीले निगरानी बढाएको छ । प्रदेश १ र मधेस प्रदेशलाई जोड्ने पुलबाट कोसीमा हाम फालेर आत्महत्या गर्ने अनि आत्महत्या प्रयास गर्नेको संख्या बढेपछि प्रहरीले २४ घण्टै निगरानीमा राख्न थालेको जनाएको छ ।

सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले कोसी ब्यारेजको निगरानीका लागि असइ (सहायक निरीक्षक) को नेतृत्वमा विशेष टोली परिचालन गरिएको जनाएका छन् ।

टोलीले पुलमा पैदल आवतजावत गर्नेहरुसँग सोधपुछ गर्दै उनीहरुको गतिविधि तथा व्यवहारमाथि निगरानी गर्ने छ ।

पैदल हिँडेर पुल वारपार गर्न खोजेजस्तो गर्ने र त्यहीँबाट नदीमा हाम फाल्ने गरेको पाइएपछि प्रहरीले आत्महत्या रोक्न सतर्कता अपनाउँदै कोसी ब्यारेजलाई विशेष निगरानीमा राखेको हो ।

अन्य उपाय लगाउँदा विभिन्न असजिला बेहोर्नुपर्ने र पुलबाट हाम फाल्दा नदीले बगाएर लगिहाल्ने भएकाले आत्महत्या गरेर जीवन समाप्त पार्न खोज्नेले कोसी ब्यारेजलाई रोज्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

एसपी ढकालले सप्तकोसीमा हामफालेर आत्महत्या गर्न खोज्नेको संख्या बढेकाले उद्धार गर्न तथा उनीहरुलाई हाम फाल्नबाट रोक्न ब्यारेज क्षेत्रमा टोली परिचालन गरिएको बताए ।

‘ब्यारेजमा हुने मानवीय गतिविधिलाई २४ घण्टै निगरानीमा राखेका छौं’ उनले भने, ‘शंकास्पद गतिविधि गर्नेहरुलाई सोधपुछ गर्ने अनि जानकारी लिएर उनीहरुका बारेमा यथार्थ बुझ्ने काम प्रहरीले गर्ने छ ।’

आत्महत्या न्यूनीकरणका लागि सुनसरीमा विशेष अभियान चलाएर चेतनामूलक कार्यक्रमलाई तीव्र पारिएको एसपी ढकालले बताए । उनका अनुसार अभियानमार्फत जीवनको महत्व बुझाउँदै आत्महत्या गर्नबाट मानिसलाई निरुत्साहित गर्ने काम भइरहेको छ ।

डेढ वर्षको अवधिमा पुलबाट सप्तकोसीमा हामफालेर आत्महत्या गर्न खोज्ने २८ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ । उद्धार गरिएकामध्ये १६ जना महिला र १२ जना पुरुष रहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए ।

उक्त अवधिमा कोसी ब्यारेजबाट हामफालेका १ महिला र २ जना पुरुषको मृत्यु भएको उनले बताए । सप्तकोसीमा हामफालेका २ जना पुरुष बेपत्ता भएको राईले बताए ।

सप्तकोसीमा हाम फाल्न खोजेकी सुनसरीको धरान उपमहानगरपालिका–१ की २७ वर्षीया महिलालाई प्रहरीले कोसी गाउँपालिका–८ बाट बुधबार दिउँसो प्रहरीले उद्धार गरेको थियो ।

शंकास्पद गतिविधि गरिरहेको देखेर स्थानीयले खबर गरेपछि तत्काल पुगेको प्रहरी टोलीले उनलाई सकुशल उद्धार गर्न भ्याएको हो । डीएसपी राईका अनुसार हाम फाल्नबाट रोकेर उद्धार गरिएकी महिलाले घरयासी समस्याका कारण तनाव भएकाले सहन नसकेर आत्महत्या गर्न खोजेको बताएकी छन् ।

उद्धारपछि आवश्यक परामर्श दिएर महिलालाई परिवारका सदस्यको जिम्मा लगाइएको उनले बताए ।

भदौ १७ गते साँझ इटहरी उपमहानगरपालिका–२ की ३४ वर्षीया महिला १२ र ९ वर्षका छोरी तथा ७ वर्षका छोेरा लिएर कोसी ब्यारेज पुगिन् । ती सन्तानसहित सामूहिक आत्महत्याको योजना बनाएर ती महिला पुगेको सुईंको पाएपछि स्थानीयले प्रहरीलाई सूचना दिए ।

तत्काल परिचालित प्रहरी टोलीले कोसीमा महिलालाई सन्तानसहित उद्धार गरेको थियो । वैदेशिक रोजगारीबाट ५ वर्षपछि फर्किएका पतिले दिएको तनाव सहन नसकेर सन्तानसहित ती महिलाले आत्महत्या गर्न खोजेको पाइएको डीएसपी राईको भनाइ छ ।

उद्धारपछि परामर्श दिइ परिवार को जिम्मा लगाइएको उनले बताए । उनलाई आगामी दिनमा कुनै पनि गालीगलौज नगर्ने, राम्रो व्यवहार देखाउने तथा संरक्षण गर्ने प्रतिवद्धता जनाएर सन्तानसहित महिलालाई पतिले नै जिम्मा लिएर गएको डीएसपी राईले बताए ।

आत्महत्या रोकथाम एवं नियन्त्रणका लागि समुदायलाई लक्षित गरेर प्रदेश १ मा असोज २ गतेदेखि प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ । विकराल रूप लिएको आत्महत्या रोकेर मानिसको जीवन बचाउने उदेश्यसहित अभियान चलाइएको प्रदेश १ प्रहरी प्रमुख डीआईजी सुदीप गिरीले बताए । उनका अनुसार असफलता, बेरोजगारी, गरिबी, नाकारात्मक सोच, लागूऔषधको दुर्व्यसन, मदिरा सेवन लगायतले आत्माहत्याको दर बढाएको छ ।

महत्वकांक्षा, प्रेममा धोका, सामाजिक सञ्जालको दुरुपयोग, छुवाछूत एवं अपहेलना, तनावपूर्ण घटना, कमजोर जीवन शैली, पारिवारिक कलह, अरुको सिको, अत्यधिक चिन्ता, अवैध गर्भधारण, बालबालिकालाई अभिभावकको बेवास्ता, वृद्धवृद्धामा उचित हेरचाहको कमीजस्ता कारणले आत्महत्या गर्ने क्रम बढेको गिरी बताउँछन् ।

‘अभियानमार्फत आत्महत्या गर्न हुँदैन र अमूल्य जीवनको सदुपयोग गर्नुपर्छ भन्ने सन्देश समुदायमा प्रवाह गरिँदै छ । आत्महत्याविरुद्ध जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेका छन्,’ उनले भने, ‘सुन्दर जीवन अनाहकमा खेर फाल्न हुँदैन भन्ने सन्देश प्रवाह गरेर समुदाय लक्षित कार्यक्रम, चेतना तथा मनोपरामर्शका माध्यमबाट आत्महत्या रोकथामको प्रयास भइरहेको छ ।’

मिहीन ढंगले अध्ययन एवं अनुसन्धान गरी गहिराइसम्म पुगेर कारण पत्ता लगाउँदै आत्महत्या नियन्त्रणको उपाय अवलम्बन गरिने उनको भनाइ छ ।

आफ्नो जीवन नै समाप्त गर्नु समस्या समाधानको उपाय हैन भनेर सबैमा बुझाउन आवश्यक रहेको डीआईजी गिरीको भनाइ छ । कुनै मानसिक समस्या देखिएमा मनोचिकित्सकबाट परामर्श दिनुपर्छ भन्ने विषयलाई जोड दिइएको उनले बताए ।

भविष्यका बारेमा निराशाका कुरा गर्ने, आफैँप्रति घृणायुक्त कुरा गर्ने, एक्लै बस्न रुचाउने, परिवारका सदस्य तथा साथीभाइबाट टाढा बस्ने, अप्रत्याशीत रूपमा छटपटी हुने, व्यक्तिको हाउभाउ एवं व्यवहार तथा सामाजिक सञ्जालमा निरासाजनक स्टाटस लेख्ने आदि आत्महत्याका पूर्वसंकेतहरु रहेको कोसी अस्पतालका मनोचिकित्सक डा. प्रभात चालिसेले बताए ।

‘आत्महत्या गर्न खोज्नेले विभिन्न पूर्वसंकेत दिन्छन्,’ उनले भने, ‘पहिचान गरेर बेलैमा समस्या समाधन गरियो भने आत्महत्यालाई रोक्न सकिन्छ ।’ प्रहरीका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश १ मा १ हजार ४ सय ८९ जनाले आत्महत्या गरेका छन् ।

399
Shares
२७ आश्विन २०७९, बिहीबार १९:२७