हराएकी छोरीको तस्बिर देखाउँदै आमा दुर्गादेवी ।
सतिसकुमार राजवंशी
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका वडा २ का महेन्द्र गिरीकी श्रीमती ३६ वर्षीया गीता गिरी सम्पर्कमा नआएपछि परिवारले खोजी गरिरहेको छ । परिवारको अनुरोधमा प्रहरीले पनि खोजी गर्दा उन कहाँ छिन् भन्ने पत्ता लाग्न सकेको छैन ।गीतालाई उनका श्रीमान महेन्द्र, छोरा माधव, आमा दुर्गादेवी पुरी, बुबा मोहन पुरीलगायत परिवारका अन्य सदस्यले निरन्तर खोजी गरिरहेका छन् । १५ वर्षे छोरा माधवले आमाको सम्झना धेरै आउने भन्दै जहाँ जुन अवस्थामा भएपनि एकपल्ट भेट्न आउन अनुरोध गरेका छन् ।
गीता २०७१ भदौ ११ गते वैदेशिक रोजगारका लागि कतार गएकी थिइन् । विदेशमा रहँदा परिवारको सम्पर्कमा थिइन् । घर फर्कन एक वर्ष वाँकी रहँदा सम्पर्कविहीन भएको श्रीमान् महेन्द्रले बताए ।
गीता गिरी ।
बेपत्ता भएको करिब आठ वर्षपछि महेन्द्रले इलाका प्रहरी कार्यलय इटहरीमा हुलियासहि खोजी गरिदिन निवेदन दिएका थिए । त्यसपछि खोजी सुरु गरेको तर हालसम्म फेला नपरेको प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काले जानकारी गराए ।
गृह मन्त्रालयअन्तर्गत अध्यागमन विभागले ०७४ असोजको २७ गते गीता नेपाल आइसकेको अभिलेखमा देखिएको जनाएको थियो । विभागको यो जानकारीपछि परिवार उनी नेपाल फर्केकोमा अब भेट हुन आशामा थिए । तर निरन्तर खोजी गर्दा पनि अत्तोपत्तो नभएपछि चिन्तामा डुबेका छन् ।
(प्रशिक्षार्थी)