विराटनगर । विराटनगर आँखा अस्पतालले विश्व दृष्टि दिवसका अवसरमा बिहीबार ३ सय ७० जनाको आँखाको निःशुल्क जाँच गरेको छ ।

अस्पताल मातहतका आँखा उपचार केन्द्रमार्फत आँखाको परीक्षण गरिएको हो । भोजपुर, तेह्रथुम, इलाम, फिक्कल, मंगलबारे, अर्जुनधारा, उर्लाबारी, रतुवामाई, लेटाङ, विराट चोक, रंगेली, दुहवी र इनरुवासमेतका उपचार केन्द्रमामार्फत सर्वसाधारणको आँखाको निःशुल्क जाँच गरिएको अस्पतालका प्रबन्धक कुमार पृथुले जानकारी दिए ।

पृथुले विश्व दृष्टि दिवस २०२२ को अवसर पारेर बिहीबार आँखा स्वास्थ्य शिक्षा सम्बन्धि जनचेतनामूलक कार्यक्रमसमेत गरिएको बताए । चेतनामूलक कार्यक्रमका साथै सर्वसाधारणको मधुमेह, रक्तचाप तथा दृष्टि जाँच गरिएको उनको भनाइ छ । उनका अनुसार परीक्षण गरिएकामध्ये ३४ जनामा दृष्टि दोष र १३ जनामा मोतियाविन्दुको समस्या रहेको पत्ता लागेको छ ।

मोतियाविन्दुको समस्या रहेकालाई निःशुल्क शल्यक्रियाका लागि आँखा उपचार केन्द्रहरुले विराटनगर आँखा अस्पतालमा रेफर गरेका छन् । उनीहरुको उपचार निःशुल्क गरिने प्रबन्धक पृथुले बताए । उनका अनुसार विराटनगर आँखा अस्पतालले ‘आँखालाई माया गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व दृष्टि दिवस मनाएको छ ।

सर्वसाधारणमा चेतना जगाउन र आँखाको उपचारमा सबैलाई प्रेरित गर्न प्रत्येक वर्ष अक्टुबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिएको पृथुले बताए । आँखा उपचार सेवालाई प्रभावकारी बनाउन विभिन्न संघ संस्थासँग समन्वय गरेर अघि बढिएको उनको भनाइ छ ।

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रक्षा पन्तले नेपालमा आँखाको समस्या भएका आधाभन्दा बढीलाई ‘म मोतियाविन्दुको बिरामी हुँ’ भन्ने ज्ञानसमेत नहुने गरेको बताइन् । सर्वसाधारणमा चेतना फैलाएर आँखाको परीक्षण तथा उपचारका लागि सबैलाई प्रेरित गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘मोतियाविन्दुको बिरामीमध्ये आधाभन्दा बढीलाई त्यसका बारेमा जानकारी र कुनै ज्ञान नै छैन । आँखाको समस्या थाहा भएकामा पनि उपचार गराउनुपर्छ भन्ने भावना छैन,’ डा. पन्तले भनिन्, ‘उपचारमा हेलचेक्राइँ गर्ने प्रवृत्ति नै मोतियाविन्दु नियन्त्रणको मुख्य जटिलता र चुनौती हो । अज्ञानता र हेलचेक्राइँँ हटाउन मोतियाविन्दु तथा आँखा उपचार सम्बन्धि चेतना जगाउन आवश्यक छ ।’ उपचार गरे मात्रै आँखालाई सुरक्षित राख्न सकिन्छ भन्ने सन्देश सबैमा पुगेमा आँखा सम्बन्धि रोग न्यूनीकरण र त्यसबाट हुने अन्धोपना रोकथाममा मद्धत पुग्ने जानकारी उनले दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु