विराटनगर । लागुऔषध र ठगी मुद्दाका २ जना फरार प्रतिवादीलाई मोरङ र सुनसरीबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–३ का ५८ वर्षीय रामबहादुर भण्डारी र सुनसरीको धरान उपमहानगरपालिका–५ का ३७ वर्षीय बुद्धबहादुर विश्वकर्मा रहेका छन् । दुवै जनालाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उच्च अदालत विराटनगरले ठगी मुद्दामा भण्डारीलाई २०७३ साल फागुन ८ गते कैद तथा जरिवानाको फैसला गरेको थियो । उच्च अदालतले १० महिना २१ दिन कैद र २५ हजार रूपैयाँ जरिवानाको फैसलासमेत गरेको हो । अदालतले दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला सुनाए पनि भण्डारी ६ वर्षदेखि फरार थिए ।

त्यस्तै जिल्ला अदालत सुनसरीले लागुऔषध मुद्दामा विश्वकर्मालाई २०७८ पुस १२ गते दोषी ठहर गरेको थियो । अदालतले १ महिना ९ दिन कैद र ५० हजार रूपैयाँ जरिवानाको फैसला गरे पनि उनी कैद तथा जरिवाना भुक्तान नगरिकन भागिरहेका थिए ।

फरार रहेका भण्डारी र विश्वकर्मालाई पक्राउ गरेर प्रहरीले बुझाएपछि अदालतले बिहीबार कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ । दुवै जनालाई गाउँघरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु