विराटनगर । प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
प्रदेश राजधानी विराटनगरसहित प्रदेश १ भरि नै रगतको चरम अभाव भइरहेका बेला ६७ औँ प्रहरी दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । प्रदेश प्रहरी कार्यालयको आयोजनामा भएको कार्यक्रममार्फत ४१ पिन्ट रगत संकलन गरिएको छ ।
प्रदेश प्रहरी प्रमुख डीआईजी सुदीप गिरीको प्रमुख आतिथ्यमा भएको रक्तदानमा प्रदेश प्रहरी कार्यालय, प्रदेश तालिम केन्द्र, प्रदेश ट्राफिक व्यवस्थापन तथा राजमार्ग सुरक्षा कार्यालय, प्रदेश सशस्त्र प्रहरी गण, विशेष सुरक्षा गण र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी अधिकृत तथा जवानले रगतदान गरेका छन् । प्रहरी दिवसको अवसरमा प्रदेश मातहतका अन्य प्रहरी कार्यालयमा पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
बिरामीलाई रगतको अभाव हुन थालेपछि प्रहरी कार्यालयभित्रै रक्तदान कार्यक्रमको आयोजना गरिएको डीआईजी गिरीको भनाइ छ । रगतको संकट टार्न विशेष अवसरमा प्रहरीभित्र रक्तदान गर्ने गरिएको उनले बताए । भने, ‘बिरामीलाई बचाउनका लागि रक्तदानलाई नियमित गर्ने योजना बनाएका छौँँ ।’
जीवन रक्षाका लागि अति नै आवश्यक पर्ने रगतका लागि सुरक्षाकर्मीकै भर पर्नुपर्ने अवस्था छ । केही समययता विराटनगरको रक्तसञ्चार केन्द्रमा रगतको चरम अभाव छ । चाडपर्व र लामो बिदाका कारण सार्वजनिक हिसाबले हुने गरेका रक्तदान कार्यक्रम ठप्प भएकाले रगतको अभाव हुन पुगेको हो ।
दसैंपछि विराटनगरमा रक्तदान कार्यक्रम हुन सकिरहेको थिएन । सामाजिक संघसंस्थाले रक्तदान कार्यक्रमको आयोजना गर्न नसक्दा रगतको चरम अभाव भइरहेको रक्तसञ्चार केन्द्र विराटनगरका प्रमुख शिवानन्द यादवले बताए । उनका अनुसार दसैंपछि रगत आवश्यक पर्ने बिरामीको संख्या बढेको छ ।
‘बिरामी बढेसँगै रगतको माग पनि बढ्यो । तर माग अनुसार आपूर्ति गर्न सकिएको छैन,’ यादवले भने, ‘रक्तसञ्चार केन्द्रमा कुनै पनि समूहको रगत मौज्दात छैन । सहज रूपमा पाइने रगतको मौज्दात पनि सकिएको लामो समय भइसक्यो ।’ उनका अनुसार सहज रूपमा पाइने ‘ओ’ र ‘ए’ पोजिटिम समूहका रगत पनि अभाव छ ।
नेगेटिभ समूहका रगत प्रायः मौज्दात नरहने उनको भनाइ छ । अभावका कारण उपलब्ध गराउन नसक्दा जतिसक्दो चाँडो रगत चढाइनुपर्ने बिरामी बढी मर्कामा परेको यादवले सुनाए । ‘चिकित्सकले बिरामीलाई रगतका लागि सिफारिस गर्छन्,’ उनले भने, ‘तर खोजीमा भौतारिँदा पनि प्राप्त गर्न नसक्ने अवस्था छ ।’
दैनिक १ सय ६० पिन्टभन्दा बढी रगतको माग रहेको जानकारी यादवले दिए । नियमित रगत दिनुपर्ने बिरामीले समेत पाउन नसकिरहेको उनले बताए । उनका अनुसार शरीरमा रगत उत्पादन नहुने समस्या भएका बालबालिकाहरुलाई नियमित रगत उपलब्ध गराउने गरिएको थियो ।
चाडपर्व र लामो समयसम्म सार्वजनिक बिदा हुँदा सधैँ रगतको अभाव झेल्नुपर्ने यादवले बताए । रगतको अभाव समाधान गर्न सबैलाई रक्तदानका लागि प्रेरित गर्ने काम भइरहेको उनको भनाइ छ । अब भने रगतको अभाव टर्दै जाने उनले बताए ।
‘केही समयदेखि रगत अभावको सामना गर्नुपर्यो । बिरामीले सहज रूपमा पाउन सकेननन्,’ यादवले भने, ‘प्रहरी लगायतका निकायले रक्तदान कार्यक्रम गर्न थालेका छन् । त्यही भएकाले रगतको संकट केही समाधान हुने अपेक्षा गरिएको छ ।’ सुरक्षाकर्मीसँगै विभिन्न निकाय, संघसंस्था र नागरिक समाजलाई पनि रक्तदानका लागि प्रेरित गर्ने काम भइरहेको उनले बताए ।
लामो समयसम्म रगतको अभाव हुँदा समस्या समाधानका लागि सुरक्षाकर्मीको भर पर्नुपर्ने अवस्था छ । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेलाई दुई दिनअघि ‘बी’ पोजिटिभ समूहको रगत आवश्यक पर्यो भनेर फोन आयो । नोबेल अस्पतालमा भर्ना गरिएका बिरामीलाई अति नै आवश्यक पर्यो भनेर फोन आएपछि उनले उक्त समूहको रगत भएका सशस्त्र प्रहरीको खोजी गरे ।
लामिछानेले सशस्त्र प्रहरीका एक जना जवान खोजेर अस्पताल पठाइदिए । सशस्त्रका ती जवानले दिएको रगतले आवश्यकता पूर्ति भयो । तत्कालको समस्या टर्यो । बिरामीको ज्यान बच्यो । सशस्त्र प्रहरीसँग मात्रै दैनिक रगतका लागि १० वटाभन्दा बढी फोन आउने गरेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला रक्तसञ्चार केन्द्रमा समेत रगतको अभाव भएपछि सर्वसाधारणले सुरक्षाकर्मीलाई नै सम्झने गरेको बताउँछन् । ‘विशेष गरेर दुर्लभ किसिमका रगत खोजी गर्दै धेरै जनाको फोन आउने गरेको छ । रक्तदान गर्ने प्रहरीको खोजी गरेर रगत दिनका लागि पठाउने गरिएको छ,’ कोइरालाले भने, ‘पहिलो त मानिसको जीवन बचाउने कुरा हो । संकटका बेला सुरक्षाकर्मीले नै साथ दिने हो ।’ मानवीय हिसाबले पनि बिरामीको ज्यान बचाउनका लागि सहयोग गर्ने गरिएको उनी बताउँछन् ।