जिल्ला अदालत काठमाडौंले २० गतेबाट गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको समय सकिएपछि पुनः थप ५ दिन अनुसन्धानका लागि समय उपलब्ध गराएको हो ।
भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी गत सोमवार अदालतमा उपस्थित गराएको थियो ।अदालतमा उपस्थित भएसँगै लामिछानेलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको थियो । अनुसन्धानको काम नसकिएकाले नेपाल प्रहरीले थप ७ दिनको समय माग गरेपनि अदालतले आज (बिहीवार) थप ५ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोज घिमिरेले बताए ।
अदालतले बयान लिने क्रम आधा सकिसकेको जानकारी दिंदै उनले असोज ३१ गतेसम्म अनुसन्धान सक्नेमा विश्वस्त रहेको बताए ।यो मुद्दा एक व्यक्तिसँग मात्र नभइ संस्थासँग पनि सम्बन्धित रहेकाले फास्टट्रयाकमा सक्नको लागि ३ दिनको म्याद थप्न आग्रह गरेपनि अदालतले ५ दिनको म्याद थपी अनुसन्धानका लागि समय दिएको उनले बताए ।
सन्दीपमाथि थप ५ दिनको म्याद थपि अनुसन्धान गर्न सूर्यबहादुर थापाको बेन्चले समय दिएको र आगामी कात्तिक १ गते पुनः फाइल पेस गर्ने वा म्याद थपको लागि पुनः पेस गर्नसक्ने बताए ।
अधिवक्ता घिमिरेले पीडित भनिएकी किशोरीको दुई वटा जन्मदर्ता भएको विषयमा आफूहरुले अनुसन्धान गरिरहेको बताउँदै भने, ‘हामीले दुईवटा जन्मदर्ता भएको भन्ने बारेमा अध्ययन गरिरहेका छौँ, हामीले बोल्न मिल्दैन ।’
१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो ।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।