विराटनगर । घरमा लुकाएर राखेको बहुमूल्य सखुवा (साल)को काठसहित झापाबाट एक जना पक्राउ परेका छन् ।
शिवसताक्षी नगरपालिका–१ धरमपुरका खगेन्द्रप्रसाद दाहाललाई पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए । उनका अनुसार सखुवाको अवैध काठ लुकाएर राखेको सूचनाका आधारमा दाहालको घरमा इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले छापा हानेको हो ।
त्यस क्रममा ७२.६३ क्यूफिट सखुवाको चिरान काठ फेला परेको डीएसपी पाठकको भनाइ छ । अवैध काठसहित दाहाललाई पक्राउ गरेर आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन कार्यालय चन्द्रगढीमा बुझाइएको जानकारी उनले दिए ।