विराटनगर । मुलुक निर्वाचनमय भएर चुनावी सरगर्मी बढिरहेका बेला सबैको नजर परेको निर्वाचन क्षेत्रमध्ये एउटा मोरङ–३ पनि हो ।

मोरङ क्षेत्र नम्बर ३ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका सुनील शर्मा र नेकपा (एमाले)बाट भानुभक्त ढकाल प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । अभिनेतृ रेखा थापाको ‘इन्ट्री’ले त्यहाँको चुनावी माहोल थप गर्माएको छ । राप्रपाबाट उम्मेदवारी दर्ता गराएकी रेखाले सुनील र भानुभक्तको प्रतिस्पर्धालाई टक्कर दिने विश्लेषण गरिएको छ ।

मुख्य दलका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने चर्चा चलिरहेका बेला रेखाप्रति देखिएको खुला जनसमर्थनले मोरङ–३ को चुनावी वातावरणलाई थप रोमाञ्चक बनाएको छ । दल र उम्मेदवारले चुनाव केन्द्रित कार्यक्रमलाई तीव्र पारिरहँदा बुधबार त्यहाँ भिन्दै माहोल देखियो ।

सुन्दरहरैँचा नगरपालिकामा एउटा टेलिभिजनले आयोजना गरेको कार्यक्रममा स्थानीय विरोधमा उत्रिए । आगामी निर्वाचनलाई लक्षित गरेर विभिन्न स्थानमा संवाद कार्यक्रम गर्दै आएका पत्रकार ऋषि धमलाको कार्यक्रममा स्थानीयले विरोध गरेका हुन् ।

‘मंसिर ४, महासंग्राम’ नामक कार्यक्रम सुटको तयारी भइरहँदा स्थानीयलाई प्रश्न सोध्नबाट रोकिएपछि कार्यक्रमस्थलमै विरोध भएको हो । स्थानीय पत्रकार राज पोखरेलका अनुसार जनतालाई प्रश्न सोध्न र जनताको जिज्ञासा मेटाउनका लागि राखिएको कार्यक्रममा एमाले उम्मेदवार भानुभक्त, राप्रपाकी रेखा र स्वतन्त्र उम्मेदवार जयराज संयोक उपस्थित थिए ।

कांग्रेस उम्मेदवार सुनीललाई पनि कार्यक्रममा निम्ता गरिएको थियो । निमन्त्रणा गरिएको भएपनि समय व्यस्ततालाई कारण देखाउँदै कार्यक्रममा नगएर उनी भने तर्किएका थिए । सुनीलकै अनुपस्थितिमा भए पनि कार्यक्रम गर्न खोजियो ।

तर, उपस्थित भएकालाई प्रश्न गर्नबाट एकाएक रोकेर कार्यक्रमको ढाँचा नै अर्को बनाइएपछि होहल्ला र विरोध भएको पत्रकार पोखरेल बताउँछन् । सुन्दरहरैँचा नगरपालिका–१२ को वडा कार्यालयमा आयोजित कार्यक्रममा रेखा निर्धारित समयभन्दा केही ढिलो गरेर पुगेकी थिइन् । त्यसअघि नै कार्यक्रमस्थलमा भानुभक्त, जयराम र कार्यक्रम प्रस्तोता ऋषि धमला पुगिसकेका थिए ।

कार्यक्रमका बारेमा रेखाले प्रश्न उठाइन् । सरकारी कार्यालयको बन्द कोठामा कार्यक्रम आयोजना गरिएको भन्दै उनले आपत्ति जनाइनन् । उनले भनिन्, ‘बन्द कोठामा कार्यक्रम गरिँदा जनतामा सकारात्मक सन्देश जाँदैन । त्यहाँँमाथि सरकारी कार्यालयमा कार्यक्रम गरिनु हुँदैन थियो । अर्कोतर्फ जनतालाई बोलाइसकेपछि जनताको प्रश्न लिन नसक्ने र जवाफ दिन नसक्ने कार्यक्रमको औचित्य नहोला । भानुभक्तले जनताको जवाफ दिन चाहनु भएन । त्यसपछि विरोध सुरु भएको हो ।’

कार्यक्रममा उपस्थित एक स्थानीयका अनुसार एमालेको पकड क्षेत्रमा गरिएको कार्यक्रममा राप्रपा निकटस्थहरुले प्रश्न राख्न पाउनुपर्ने माग गरेका थिए । तर त्यसबाट भानुभक्त पन्छिए । जवाफ नै दिन चाहेनन् । ती स्थानीय भन्छन्, ‘गएको ५ वर्षमा सो क्षेत्रबाट जितेर गएकाको बारेमा स्थानीयले कुरा बुझ्न चाहेका थिए । तर कार्यक्रमको ढाँचा नै परिवर्तन गरियो । त्यसमा आपत्ति जनाइएको हो । त्यसमाथि एमाले उम्मेदवार भानुभक्तले बोल्न चाहेनन् ।’

कार्यक्रमको आयोजना गरेको टेलिभिजनका इटहरी संवादादाता विकल रेग्मीले भने, ‘जनतालाई बोल्न नदिइने प्रकारको ‘जनता जान्न चाहन्छन्’ भन्ने खालको कार्यक्रमको ढाँचा थियो । स्थानीयले कार्यक्रमबारे बुझ्न सक्नु भएन ।’

कार्यक्रम सुन्दरहरैँचास्थित जेसिज भवनमा गर्ने भनिएको थियो । एक उम्मेदवारले वडा नम्बर १२ को कार्यालयमा राखेमात्र उपस्थित हुने जनाएपछि टेलिभिजन सेट नै वडा कार्यालय पुर्याइएको हो ।

२०७४ सालको निर्वाचनमा भानुभक्त सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी मन्त्री पनि बने । स्वास्थ्य मन्त्री हुँदा स्वास्थ्य सामग्री खरिद सम्बन्धी विवादमा मुछिएपछि भानुभक्तलाई हेर्ने दृष्टिकोण नाकारात्मक बनेको स्थानीय बताउँछन् ।

२०७४ मा बाम गठबन्धनका तर्फबाट भानुभक्त विजयी हुँदा सुनील पराजित भएका थिए । भानुभक्त र सुनीलबीचको मतान्तर १ हजार ९ सय ६ थियो । भानुभक्तले ४२ हजार ४ सय १३ र सुनीलले ४० हजार ५ सय ६ मत प्राप्त गरेका थिए । पुरानै प्रतिस्पर्धी भानुभक्त र सुनील आगामी निर्वाचनमा पनि प्रतिस्पर्धी भएर चुनावी मैदानमा उत्रिएका छन् ।

अर्कोतर्फ निर्वाचनका बेला गरेका प्रतिवद्धता पूरा नगरेको आरोप भानुभक्तमाथि लागिरहेको छ । मोरङ क्षेत्र नम्बर ३ एमाले पकड क्षेत्र भए पनि भानुभक्तलाई यसपटक चुनाव जित्न गाह्रो पर्ने विश्लेषण गरिएको छ । जनहीतमा केही काम नगरेका कारण जनताको जवाफ नै दिन नसक्ने अवस्थामा भानुभक्त पुगेको जिकिर स्थानीयको छ ।

सुनीलप्रति पनि स्थानीय सन्तुष्ट नभएको बताइन्छ । जनताका गुनासा र समस्याको सम्बोधनमा चासो नदिने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ । यद्यपि सुनील सञ्चालक रहेको नोबेल शिक्षण अस्पतालले क्षेत्र नम्बर ३ का सर्वसाधारणलाई लक्षित गरेर उपचारमा छुट दिँदै आएको छ । नोबेलले उक्त क्षेत्रका कतिपयको उपचार निःशुल्क रूपमा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु