बुधवार सुनाइएको निर्णयअनुसार सुकीलाई २६ वर्षको जेल सजाय तोकिएको छ । गत वर्ष फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएर ७७ वर्षकी सुकीलाई पक्राउ गरेको थियो । सुकीले आफूमाथि लगाइएका आरोप अस्वीकार गरेकी छन् ।
नेत्री सुकीमाथि लागूऔषध तस्करीको अभियोगमा दोषी ठहरिएका कुख्यात माउङ वेइकबाट पाँच लाख ५० हजार अमेरिकी डलर घुस लिएको आरोप लगाइएको थियो ।सन् १९९१ को नोबेल शान्ति पुरस्कार विजेता नेत्री सुकीविरुद्ध सेनाले लगाएका धेरै आरोपमा भ्रष्टाचारका मुद्दा सबैभन्दा बढी छन् ।
उनलाई भ्रष्टाचारविरोधी ऐनअन्तर्गत १२ वटा मुद्दा लगाइएको छ । ती सबैमा १५ वर्षसम्मको दरमा जेल सजाय र जरिवाना हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।सुकीका समर्थक र स्वतन्त्र विश्लेषकहरूले ती आरोप राजनीतिकरूपमा प्रेरित रहेका र उनलाई बदनाम गर्ने तथा सेनाको सत्ता कब्जालाई वैधानिक बनाउने प्रयास भएको बताएका छन् ।
सैनिक शासन रहेको म्यानमारमा सुकीलाई सार्वजनिकरूपमा बोल्न प्रतिबन्ध लगाइएको छ भने उनका वकिलहरूलाई पनि मुद्दाका बारेमा सार्वजनिकरूपमा बोल्ने अनुमति छैन ।