तस्बिरः राजेश गौतम/एएमजी टाइम्स

विराटनगर । मनसुनी गतिविधि अझै सक्रिय रहँदा प्रदेश १ सहित मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ । विराटनगरमा बुधबार बिहानदेखि ठूलो वर्षा भइरहेको छ । प्रदेश १ का अरु स्थानमा पनि उस्तै अवस्था देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसुन बाहिरने अन्तिम बेला भएकाले वर्षा भइरहेको हो । मौसमविद वरुण पौडेलका अनुसार खासै ठूलो मौसमी गतिविधि सक्रिय नभए पनि मनसुनी गतिविधि उत्तरार्धमा देखिएको छ ।

क्रमिक रूपमा मौसम सुधार हुँदै गएको र यो क्रम जारी रहने महाशाखाले जनाएको छ।

शनिबारदेखि देशभरको मौसम सफा हुने देखिएको पौडेलले जनाएका छन् । त्यसअघि विशेषगरी पहाडी क्षेत्रमा केही बदली र हल्का पानी पर्ने सम्भावना छ।

पूर्वबाट भित्रिएको मनसुन पश्चिमबाट बाहिरिने गर्छ। यो वर्ष गएको जुन ५ मा मनसुन भित्रिएको थियो। मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भए पनि अहिलेसम्म मनसुनी गतिविधि सक्रिय हुँदा विभिन्न स्थानमा भारी वर्षा भएको थियो।

एक दुई दिनभित्रै मुलुकका सबै क्षेत्रको मौसम सुधारोन्मुख देखिएको महाशाखाले जनाएको छ।

203
Shares
२६ आश्विन २०७९, बुधबार ०८:३७