विराटनगर । त्रिदिवसीय ‘श्री निम्बार्क वैष्णव राष्ट्रिय महासम्मेलन’ विराटनगरमा आयोजना हुने भएको छ ।

विराटनगरस्थित अतिथि सदनमा असोज २९ देखि ३१ सम्म हुने सम्मेलनमा २५ सय भन्दा बढी भक्तजनहरु उपस्थित हुने आयोजक समितिले बताएको छ ।

सम्मेलनमा द्वैताद्वेत सिद्धान्तका प्रवर्तक सुदर्शन चक्रावतार आद्य जगद्गुरु श्री निम्बार्कचार्य भगवानद्वारा स्थापित श्रीनिम्बार्क सम्प्रादयका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त जगद्गुरु, सन्त, महन्त, मठाधीश, पीठाधीश, धर्माचार्य, विद्वान, विदुषी, प्राध्यापक र आचार्यजनको उपस्थिती रहनेछ ।

महासम्मेलनमा सहभागी हुन भारतका विभिन्न स्थान र अमेरिकाबाट श्रीनिम्बार्क सम्प्रादयका मानिस आउने आयोजक समितिका अध्यक्ष पण्डित भवानीशंकर निरौलाले बताएका छन् ।

४० लाख खर्च अनुमान गरिएको सम्मेलनका लागि कसैसँग पनि आर्थिक सहयोग नलिएको जानकारी समितिका महासचिव पण्डित श्रीगोपाल सुवेदीले जानकारी दिएका छन् ।

‘सम्मेलनका लागि हामीले कसैसँग पनि आर्थिक सहयोग लिएका छैनौँ’ महासचिव सुवेदीले भने, ‘सर्वसाधारणको दान–दक्षिणाबाट नै यो सम्मेलन समापन गर्ने लक्ष्य लिएका छौँ ।’

सम्मेलनमा निम्बार्क सम्प्रदायमा श्रीशालिग्राम उपासनाको औचित्यबारे प्रकाश पार्ने, भगवद् उपासना र साधना सम्बन्धी प्रशिक्षण, शास्त्रीय प्रवचन, वेद वेदान्त तथा देश–विदेशका जगद्गुरु, धर्मार्चार्य, सन्त–महन्त र विद्धान्–विदुषीहरुले आ– आफनो मन्तव्य राख्ने तालिका रहेको छ ।

साथै, वैष्णव जगत एक हो भन्ने भावना जागृत गराउने र नेपालमा रहेका सबै धार्मिक संघसंस्थालाई एकीकरण गर्ने उद्देश्य सम्मेलनले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु