विराटनगर । तिहार नजिकिँदै गइरहेका बेला प्रदेश १ को राजधानी विराटनगरलगायत मोरङका विभिन्न स्थानमा भारतबाट धमाधम पटका भित्रन थालेको छ ।

खुला सीमाको फाइदा उठाउँदै अवैध ढंगले पटका भित्र्याउन थालिएको हो । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई छलेर लुकाईछिपाई पटका भित्र्याउने गरेको पाइएको छ ।

तिहारमा पटकाजन्य विष्फोटक पदार्थको कारोबार उल्लेखय हुने गरेको छ । कारोबारमा संलग्नले भारतबाट अवैध तरिकाले पटका भित्राएर बिक्री गर्ने गरेका छन् ।

नेपालमा चाडपर्वका बेला भित्राइने पटका तिहार र छठ पर्वमा बढी प्रयोग हुने गरेको छ ।

पटकाको ओसारपसार र कारोबारलाई निषेध गरिएको छ । स्थानीय प्रशासनले ओसारपसार, कारोबार तथा प्रयोगमा रोक लगाए पनि भारतबाट विभिन्न माध्यमबाट भित्रने गरेको हो ।

भारतबाट ल्याउँदै गरेको ठूलो परिणामको पटका मोरङको रंगेली र विराटनगरबाट प्रहरीले बरामद गरेको छ ।

रंगेली नगरपालिका–४ चोप्राहा नाका हुँदै भित्राइएको २ लाख ७२ हजार रूपैयाँ बराबरको पटका मंगलबार दिउँसो बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार विभिन्न प्रकारका पटका १ सय ७ बण्डल बरामद गरिएको छ ।

त्यस्तै मारुती भ्यानमा राखेर ल्याउँदै गरेको पटका प्रहरीले विराटनगर महानगरपालिका–१२ बाट सोमबार साँझ बरामद गरेको छ ।

भारतबाट भन्सारले गरेर विद्युतीय सामान ल्याउँदै गरेको सूचनाका आधारमा नियन्त्रणमा लिन गएको प्रहरी टोलीले को १ च ३१७८ नम्बरको भ्यानलाई रोकेर जाँच गरेको थियो ।

भ्यानभित्र तस्करी गरेर ल्याइएको ५ लाख ७७ हजार मूल्य बराबरको विद्युतीय सामान र पटका फेला परेको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार विद्युतीय सामान, पटका र भ्यानसहित चालक विराटनगर–१५ का ३९ वर्षीय धनकुमार भण्डारीलाई नियन्त्रणमा लिइएको छ ।

बरामद पटका प्रहरीले नष्ट गर्ने गरेको छ । ठूलाठूला आवाजमा पड्किने पटकाले ध्वनि प्रदूषण हुने गरेको छ । त्यसबाट निस्कने झिल्काले आगलागीका घटनासमेत हुने गरेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले पटकको आवाजले कानमा असर गर्नुका साथै मानवीय र भौतिक क्षतिसमेत हुने बताए । पटका पड्काएर रमाइलो गर्न खोज्दा क्षति बेहोर्नुपर्ने र ध्वनिप्रदूषणसमेत हुने भएपछि भित्राउन नदिन सीमा क्षेत्रमा कडाइ गरिएको उनले बताए ।

‘पटकाको आवाजले ध्वनि प्रदूषण हुनुका साथै आगलागीका निम्तिन सक्छ । मानिसको शरीरका अंगमा क्षति पुग्छ,’ एसपी कोइरालाले भने, ‘मानवीय तथा भौतिक क्षति हुन नदिन पटकाको प्रयोगलाई निरुत्साहित गर्नुपर्छ । भारतबाट भित्रन नदिन सीमा क्षेत्रमा कडाइ गर्दै उच्च सतर्कता अपनाइएको छ ।’

तिहार लगायतका चाडपर्व र आगामी निर्वाचनलाई समेत लक्षित गरेर सीमा क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भारतबाट भित्रने पटकाले निर्वाचनमा समेत सुरक्षा चुनौती थपिन सक्ने सुरक्षा विश्लेषण छ ।

133
Shares
२५ आश्विन २०७९, मंगलवार १९:३१