झ्याल

ढोका भन्दा सुन्दर र भव्य हुनु पर्दछ,
ढोकादेखि मलाई एक किसिमको डर लाग्छ,
कुनै दिन त्यही ढोकाबाट
तिमी निक्लेर गयौ र
फेरि कहिल्यै फर्किन सकेनौ यदि मतिर,
त्यसैले त म यी झ्यालहरुलाई सजाएर राख्दछु
ती स्मृतिहरुलाई जस्तै गरेर
जसबाट तिमी निक्लेर जाने कुनै भय हुने छैन
मलाई,

कहिलेकाहिँ जब ढोका बन्द हुने बित्तिकै
कोठामा भरिन लाग्छ अँध्यारो
तब मेरो मन सर्दै सर्दै बिस्तारै पुग्दछ
झ्यालबाट चिहाइरहेको उज्यालोतिर
झ्याल,
हरेक बन्द कोठाको आशाको किरण हो,

झ्याल मेरालागि ती सम्झनाहरु जस्तै हो
जहाँबाट हामफालेर भित्र आउनसक्छ बाल्यकाल,
जसबाट छानिएर आउँछ घाम,
र मेटिन सक्छ मनको उदासी
बाहिर चिर्बिर गरिरहेको चराको आवाजले
लडाइदिन सक्छ
अचानक नै तिम्रो त्यो पीडाको पर्खाल
र तिमी फर्किन सक्छौ फेरि
जीवनतर्फ
जीवन्त भएर!

–भारतीय कवि परिहारको यो कविता बिम्मी कालिन्दा शर्माले अनुवाद गरेकी हुन् ।

बिम्मी कालिन्दा शर्मा

231
Shares
२५ आश्विन २०७९, मंगलवार १४:४६