डा. प्रभात चालिसे

हामीले प्रत्येक वर्ष अक्टोबर १० तारिखलाई विश्व मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउँछौँ ।

‘सबैका लागि मानसिक स्वास्थ्यलाई विश्वव्यापी प्राथमिकता बनाऔं’ भन्ने नाराका साथ यसवर्षको विश्व मानसिक स्वास्थ्य दिवस असोज २४ गते सोमबार मनाइयो । विश्व स्वास्थ्य संगठनका अनुुसार मानसिक रूपमा स्वस्थ हुन मानिसले आफ्नो क्षमतालाई पहिचान गर्न सक्नुपर्छ । जीवनमा आइपर्ने समस्या र तनावलाई व्यवस्थापन गर्न, फलदायी काम गर्न र समाजलाई योगदान गर्न सक्नुपर्छ ।

यी काम गर्न नसक्नेलाई हामी सामान्य भाषामा मानसिक रोगी भन्छौँ । मानसिक रोग त्यस्तो अवस्था हो, जसमा मानिसको सोचाइ, भावना र व्यवहार उसमा पहिलेदेखि नै रही आएको भन्दा केही फरक हुन्छ । र, त्यो परिवर्तनले उसको दैनिक, व्यक्तिगत, पारिवारिक, सामाजिक र आर्थिक अवस्थालाई अप्ठेरो बनाउँछ ।

हामीले विशेषतः मानिसमा दुई प्रकारका मानसिक समस्या पाउँछौँ । ती हुुन्, साइकोसिस र न्यूरोसिस । यी दुईलाई हामी सहजै पहिचान गर्न सक्छौँ । आफूलाई मानसिक रुपमा केही समस्या परेको सहजै थाहा पाउन सकिने अवस्था छ भने हामी त्यसलाई न्यूरोसिस भन्छौँ ।

जस्तैः टाइफाइड हुँदा ज्वरो आउँछ, शरीर तातो हुन्छ, मानिस काँप्न थाल्छ । यी लक्षण देखिए हामीलाई आफू अस्वस्थ भएको थाहा हुन्छ । यसरी नै आफ्नो मानसिक अवस्थामा ह्रास आउन थालेको सहजै थाहा पाउन सकिने अवस्थालाई हामी न्यूरोसिस भन्छौँ ।

आफ्नो मानसिक अवस्था खराब हुँदै गएको वा आफूलाई भइरहेको समस्या महसुस नहुने वा आफूलाई भइरहेको समस्या थाहा नहुने अवस्थालाई साइकोसिस भनिन्छ । सामान्यतया धेरै मानिसलाई न्यूरोसिस हुने गर्छ । चिन्ता, डिप्रेसन, उदासीनता न्यूरोसिसका उदाहरणहरु हुन् ।

सिजोफ्रेनिया, बाइपोलारलाई मानसिक स्वास्थ्यको दृष्टिकोणले साइकोसिसका रुपमा वर्गीकरण गरिन्छ । जाँड, रक्सी, गाँजा, चुरोटको कुलतमा परेका मानिसहरुमा पनि मानसिक समस्या देखिन सक्छ । लागूऔषध, धुमपान, मद्यपानको लत छाड्न नसक्ने अवस्थामा मानिस पुगेको छ भने त्यो पनि मानसिक समस्याको उदाहरण हो ।

नेपाली समाजमा देखिने मानसिक समस्या

हामीमध्ये धेरैले अनावश्यक चिन्ता लिने गरेका छौँ । पीर, चिन्ता, उदासिनता समाजमा प्रायः मानिसमा पाइने मानसिक समस्याहरु हुन् । कुलत, डिप्रेसन पनि नेपालमा पाइने अन्य मानसिक समस्याहरु हुन् । मानसिक रोगको परिणामका रुपमा देखिएको आत्महत्याको अवस्था झनै विकराल छ ।

संसारभरि बढिरहेको आत्महत्याको तथ्यांकलाई विश्लेषण गर्ने हो भने यसबाट हुने क्षति डरलाग्दो छ । नसर्ने रोगका रुपमा भयावह तरिकाले विकास भइरहेको मानसिक समस्या र त्यसको उपजका रुपमा देखिएको आत्महत्याले सन् २०३० सम्म अहिलेभन्दा दुई गुणा बढी मानिसको मृत्यु हुने प्रक्षेपण छ ।

अध्ययन अनुसार १५ देखि ६५ वर्षको उमेर समूहका बहुसंख्यक मानिसको मृत्यु हुने सबैभन्दा मुख्य कारण सवारी दुर्घटना छ भने दोस्रो कारण आत्महत्या पाइएको छ । आत्महत्या गरी आफ्नो देह त्याग गर्ने ९० प्रतिशत मानिसलाई हामीले समयमा नै सही तरिकाले परामर्श दिन सक्यौँ भने उनीहरुलाई हामी बचाउन सक्छौँ । सबैभन्दा दुःखद् कुरा न उनीहरुले आफूलाई भएको मानसिक रोगबारे न खुलेर बोल्न सक्छन्, न त उनीहरुलाई आवश्यक परामर्श र सल्लाह नै प्रदान गर्न सकिएको छ ।

आत्महत्याको डरलाग्दो तथ्यांक

आत्महत्या गहिरो स्वास्थ्य समस्या हो । जसले वर्तमान अवस्थामा व्यस्क उमेर समूहलाई सबैभन्दा धेरै प्रभावित गरिरहेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा प्रत्येक ४ सेकेन्डमा १ जना मानिसले आत्महत्या गर्छन् । नेपाल प्रहरीको तथ्यांकलाई आधार मान्ने हो भने प्रत्येक दिन २० नेपालीले आत्महत्या गर्ने गरेका छन् । र, यो तथ्यांकमा प्रत्येक वर्ष वृद्धि भइरहेको छ ।

आत्महत्याले मानिसको जीवन क्षति त हुन्छ नै, त्यसबाहेक उसको घरपरिवार, आफन्त, साथीभाइका लागि अपूणीय क्षति हुन्छ । त्यसैले हामीले समयमा नै सचेतना अपनायौं भने आत्महत्या लगायत मानसिक रोगलाई रोकथाम गर्न सकिन्छ ।

आत्महत्या गर्नबाट ९० प्रतिशतलाई जोगाउन सकिन्छ

आत्महत्याबाट देह त्याग गर्ने ९० प्रतिशत मानिसलाई हामी बचाउन सक्छौँ । तर त्यसका लागि एक जनाको मात्र प्रयासले सम्भव हुँदैन । राज्यको नीति निर्माण तहदेखि नै आमजनतासम्म मानसिक रोगका बारेमा चेतना फैलाउन आवश्यक छ । मानसिक स्वास्थ्यको बारेमा जानकार, यस क्षेत्रमा काम गर्ने जनशक्तिलाई वृद्धि गरिनुपर्छ ।

नेपाल जस्तो राष्ट्रमा जनशक्ति वृद्धि गर्न तत्काल सम्भव हुँदैन । त्यसैले हामीसँग उपलब्ध भएका जनशक्ति तथा स्रोत, साधनलाई नै उचित व्यवस्थापन गर्न सक्नुपर्छ । स–साना कुराबाट हामीले मानसिक स्वास्थ्यको बारेमा जनमानसम्म शिक्षा पुर्याउन सक्नुपर्छ । जसरी विद्यालयमा हामीले सफा रहन हात धुने, झाडा पखाला लागे जीवन जल पिउने, प्राथमिक उपचारको शिक्षा दिन्छौँ त्यसै गरी मानसिक स्वास्थ्यको बारेमा समेत हामीले आवश्यक शिक्षा दिनुपर्छ ।

विद्यालयको पाठ्यक्रममा नै मानसिक स्वास्थ्य, समस्या र समाधानका विषय समावेश गरी ज्ञान दिन सकिए आत्महत्या जस्ता मानसिक समस्या न्यूनीकरण गर्न मद्दत पुग्छ । आत्महत्या गर्नेलाई हाम्रो समाजले समस्यादेखि भागेको, डराएको, कायर भएको भनेर परिभाषित गर्छ, तर खासमा हामीले बुझ्नु पर्ने के हो भने आत्महत्या भनेको रोग हो, मानिसको कमजोरी होइन ।

आत्महत्यालाई कमजोरीका रुपमा नलिई समस्या र रोगका रुपमा लिन थाल्यौं भने हामीले जो कोहीलाई त्यो अवस्थाबाट बचाउन सक्छौँ । उनीहरुलाई आत्महत्या गर्नबाट रोक्न सक्छौँ । मानसिक रोगका विषयमा राज्यको नीति, पाठ्यक्रम र जनचेतना कार्यक्रममार्फत शिक्षा फैलाउन सके हामीले बढ्दै गइरहेको यो विकराल अवस्थालाई निकै कम गर्न सक्छौँ । त्यत्ति मात्र नभई व्यक्ति, घरपरिवार, आफन्त, साथीभाइ, समाज र राज्यले नै यो विषयलाई गम्भीर तरिकाले लिएर सोही अनुसार आफ्नो बुझाइ र व्यवहारमा परिवर्तन ल्याउन सक्नु पर्छ ।

नेपालमा मानसिक रोगको अवस्था

नेपाल पनि मानसिक रोगबाट अछुतो छैन । मानसिक स्वास्थ्यको समस्या भएका मानिसहरु नेपालमा पनि थुप्रै छन् । नेपालको कूल जनसंख्याको ३० देखि ४० प्रतिशत मानिसले आफ्नो जीवनकालमा कुनै न कुनै मानसिक समस्या भोग्ने गरेका छन् ।

नेपाली समाजमा मानसिक रोगीलाई हेयको भावनाले हेर्ने गरिन्छ । त्यसैले आफू मानसिक रुपमा अस्वस्थ छु भनेर नेपालीहरु सहजै खुल्न सक्ने अवस्था छैन । मानसिक रोगीका रुपमा सार्वजनिक भए उनलाई तिरस्कार गरिन्छ र समाजबाट टाढा पुर्याउने काम गरिन्छ । जसले गर्दा मानिस आफूमा भएका समस्यालाई दबाउन बाध्य छन् ।

समाजको होच्याई र दुव्र्यवहार सहनु भन्दा आफूलाई परेको समस्या सार्वजनिक नगर्नु नै मानिसले उचित ठान्छ । यसले उसको मानसिक अवस्था झनै खराब गर्दै लग्छ र अन्त्यमा मृत्युको बाटो रोज्न बाध्य गराउँछ । त्यसैले समाजमा मानसिक रोगलाई अन्य रोगजस्तै सामान्य तरिकाले लिन सक्ने वातावरण सिर्जना गर्न अत्यावश्यक छ ।

मानसिक स्वास्थ्य समस्याबाट ग्रसितहरुलाई दुव्र्यवहार र गाली गर्नुभन्दा उपचारका लागि हौसला र प्रेरणा दिन आवश्यक छ । मानसिक स्वास्थ्य समस्या उपचार गरेमा निको हुन्छ । मानसिक रोगीलाई घृणा हैन, माया गरौं ।

(डा. चालिसे विराटनगरस्थित कोसी अस्पतालका मनोचिकित्सक एवं नेपाल मनोचिकित्सक संघका केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु