विराटनगर । प्रदेश १ मा महिला हिंसाका घटना बढ्दै गइरहेको पाइएको छ ।

प्रहरीको तथ्यांकले हिंसाका कारण महिला पीडित हुने क्रम बढ्दै गइरहेको पुष्टि गर्छ । प्रहरीमा दर्ता भएको मुद्दाको संख्याले प्रत्येक वर्ष महिला हिंसा बढेको देखाउँछ ।

गत आर्थिक वर्ष २०७८/०७९ मा महिला हिंसासँग सम्बन्धित २ हजार २ सय ६० मुद्दा प्रहरीमा दर्ता भएको थियो । घटनामा संलग्न २ हजार १२ जना पक्राउ परे भने ३ सय ९७ जना अझैसम्म फरार छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा महिला हिंसाका १ हजार ९ सय ८६ मुद्दा दर्ता भएको थियो । हिंसामा संलग्न १ हजार ८ सय ५२ जना पक्राउ परे भने ३ सय ५८ जना फरार रहे ।

आर्थिक वर्ष २०७६/०७७ मा महिला हिंसाका १ हजार ४ सय ४० मुद्दा दर्ता भएको थियो । १ हजार ३ सय ५० जना पक्राउ परे भने १ सय ८० जना फरार रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ जबरजस्ती करणीका ४ सय ८९ मुद्दा दर्ता भए । बलात्कारमा संलग्न ३ सय ९३ जना पक्राउ परे भने १ सय १४ जना फरार भएका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा जबरजस्ती करणीका ५ सय ९७ मुद्दा दर्ता भएका थिए । किटानी जाहेरी परेकामध्ये ५ सय ४६ जना पक्राउ परे भने १ सय १३ जना फरार भएका थिए ।

आर्थिक वर्ष २०७६/०७७ मा जबरजस्ती करणीका ४ सय ८७ मुद्दा दर्ता भएको थियो । ४ सय ६८ जना पक्राउ परे भने ७५ जना फरार भएका थिए ।

त्यसैगरी, आर्थिक वर्ष २०७८/०७९ मा मानव बेचबिखनका १६ वटा मुद्दा दर्ता भएका छन् । २३ जना पक्राउ परे भने ८ जना फरार छन् । आर्थिक वर्ष २०७७/०७८ मा मानव बेचबिखनमा २३ वटा मुद्दा दर्ता भयो । ४१ जना पक्राउ परे भने २४ जना फरार भएका थिए ।

२०७६/०७७ मा मानव बेचबिखनमा १४ वटा मुद्दा दर्ता भएको थियो । २४ जना पक्राउ परे भने ५ जना फरार भएका थिए ।

महिलाविरुद्ध हुने विभिन्न किसिमका घटना न्यूनीकरण गर्न सरकारी तथा गह्रै सरकारी संघसंस्था लागे पनि उपलब्धि प्राप्त गर्न नसकेको तथ्यांकबाट पुष्टि हुन्छ । तीन तहको सरकारका साथै गहै्रसरकारी संस्थाले महिलाविरुद्ध हुने सबैखाले हिंसा न्यूनीकरण गर्न विभिन्न चेतनामूलक कार्यक्रमहरु, सडक नाटक, कचहरी नाटक, शैक्षिक संस्थालागयतका क्षेत्रमार्फत समाजमा चेतना जगाउने काम गरिरहेका छन् । तर महिला हिंसाका घटनामा कमी नआउनुले चेतनामूलक कार्यक्रम प्रभावकारी हुन नसकेको प्रष्ट हुन्छ ।

महिला हिंसाका घटना बाहिर आउने क्रम बढेका कारण पछिल्लो समय हिंसा भएको संख्या थपिएको अधिकारकर्मीहरु बताउँछन् । अधिकारकर्मीका अनुसार पहिले चेतनाको कमीले गर्दा हिंसाका घटना घरभित्रै दबाउने गरिन्थ्यो ।

पछिल्लो समय आफ्नो हकअधिकार र न्यायका कुराले चेतना बढेसँगै घटना बाहिर आउँदा संख्यामा वृद्धि भएको देखिएको अधिकारकर्मीको तर्क छ । सरकारी र गैह्रसरकारी संघसंस्थाले महिला हिंसालगायतका विषयमा समाज र विद्यालयस्तरमा चेतनामूलक कार्यक्रमलाई जोड दिन थालेपछि न्याय पाइने आशामा घरभित्र हुने हिंसा र अन्य प्रकारका हिंसाका घटना बाहिरिन थालेको हो ।

‘पहिले घरभित्रका घटना घरभित्रै रहन्थ्यो भने अहिले यस्ता घटनाहरु बाहिरन थालेका छन्,’ अधिकारीकर्मी मञ्जिता उपाध्यायले भनिन्, ‘चेतनाले घटना लुकाउन हुने रहेनछ भन्ने सन्देश समाजमा प्रवाह भएको छ । आफू हिंसामा पर्दा कसरी, कहाँ गएर न्याय पाइन्छ भन्ने कुरा थाहा पाएपछि घटनाले कानुनी बाटो लिँदा संख्या बढ्न थालेको हुनुपर्छ ।’

सामाजिक सञ्जालको दुरुपयोगले गर्दा पनि पछिल्लो समय हिंसाका घटना बढेको देखिन्छ । ‘सोसल मिडिया’मा भित्री कुरा सार्वजनिक हुने र त्यही मिडियालाई दुरुपयोग गर्दै जाँदा हिंसा भएका धेरै घटनाहरु आइरहेको उपाध्यायले बताइन् ।

‘हिंसा सम्बन्धी चेतना बढ्दै गएकाले पनि घटना बाहिरिन थालेको हो,’ उपाध्यायले भनिन्, ‘सरकारी तवरबाटै हिंसाविरुद्धका कार्यक्रमलाई गाउँ–गाउँमा पुर्याउनुपर्छ ।’ गाउँ, सहर सबै क्षेत्रमा हिंसाविरुद्ध जनचेतना आवश्यक रहेको र कानुनी कारबाहीको दायरालाई फराकिलो पार्न आवश्यक रहेको उनको भनाइ छ ।

‘साइबर क्राइम मुद्दालाई सहज र सजिलो बनाउनुपर्ने देखिन्छ । सबै जिल्लामा अनुसन्धान र कारबाही अघि बढाउने व्यवस्था गर्नुपर्छ,’ उनले भनिन्, ‘काठमाडौंमा मात्रै मुद्दा दर्ता गर्न वा उजुरी गर्न जानु पर्ने बाध्यता हट्दा सहज हुने थियो । हिंसाबाट पीडित भएका महिलाले न्याय पाउने थिए ।’

अधिकारकर्मीका अनुसार हिंसामा महिला मात्रै होइन पुरुष पनि पर्ने गरेका छन् । तर, पुरुष हिंसामा परेको घटना कमै बाहिरिने गरेका छन् ।

‘कुनै पनि हिंसा अन्त्य हुनका लागि दिगो आर्थिक विकास हुनु जरुरी देखिन्छ,’ १ नम्बर प्रदेश प्रहरी कार्यालय प्रवक्ता एसपी नवीनराज राईले भने, ‘चेतनाको कमीले गर्दा पनि हिंसाका घटना बढेको हो । जनसंख्या, बेरोजगारी र आवश्यकता वृद्धिले गर्दा पनि हिंसाका घटनामा वृद्धि भएको पाइन्छ ।’ उनका अनुसार आर्थिक पक्ष कमजोर हुँदै जानेर र आवश्यकता वृद्धि हुँदै जाँदा आवश्यक कुरा पूर्ति गर्न सम्भव नभएपछि त्यहाँ तनाव भएर हिंसा हुने गरेको पाइएको छ ।

आवश्यकता पूर्ति नभएपछि हिंसा हुने र यस्तोमा कमजोर पक्ष महिला र बालबालिका रहने भएकाले उनीहरु नै बढी हिंसामा पर्ने गरेको प्रहरीको विश्लेषण छ । घरेलु हिंसाका घटनामा पनि वृद्धि भएको प्रहरीले जनाएको छ । जुन व्यक्तिबाट संरक्षित र संरक्षण हुनुपर्ने हो त्यही व्यक्तिबाट महिलाहरु हिंसाको सिकार हुनु परिरहेको एसपी राईले बताए ।

77
Shares
२५ आश्विन २०७९, मंगलवार १३:०७