विराटनगर । ताप्लेजुङमा एकाबिहानै मनी ट्रान्सफर डकैती गर्ने हतियारधारी गिरोह प्रहरीको फन्दामा परेको छ ।

फुङलिङ नगरपालिका–५ स्थित वीरेन्द्र चोकमा अम्बर श्रेष्ठले सञ्चालन गरेको कंचन मनी ट्रान्सफरमा दसैंको महाअष्टमी अर्थात असोज १७ गते बिहान हतियारधारी समूहले डकैती गरेको थियो । डकैती गर्ने गिरोहका ४ जना पक्राउ परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए ।

उनका अनुसार फुङलिङ–२ का २९ वर्षीय राजन पोर्तेल, सिदिङवा गाउँपालिका–५ घर भइ पाँचथरको फिदिम नगरपालिका–१ मा बस्दै आएका २७ वर्षीय टाइगर भनिने गजेन्द्र लिम्बू, झापाको शिवसताक्षी नगरपालिका–१ का २६ वर्षीय चुनबहादुर सुनुवार र झापाकै अर्जुधारा–१० का २५ वर्षीय मणिराज पोर्तेललाई पक्राउ गरिएको हो । राजन घटनाका मुख्य योजनाकार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पेस्तोलसहित प्रवेश गरेको समूहले मनी ट्रान्सफरकी कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई कुटपिट गरेर लुटपाट एवं डकैती गरेको थियो । कुटपिट गरेर कर्मचारीलाई नियन्त्रणमा लिएपछि मनी ट्रान्सफरमा रहेको ३ सय ४८ तोला सुनका गहना र नगद ११ लाख ६३ हजार २ सय ५० रूपैयाँ लुटेर उक्त गिरोह भागेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै परिचालित प्रहरीले डकैती गरिएको १ सय ४३ तोला सुनका गहना र ६ लाख १३ हजार ३ सय ४० रूपैयाँसहित ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाको साथबाट प्रहरीले एउटा पेस्तोल पनि बरामद गरेको थियो ।

फरार रहेका गजेन्द्र लिम्बूलाई भने खोजतलास गर्ने क्रममा पाँचथरको फालेलुङ–८ मा लुकिछिपी बसेको अवस्थामा सोमबार साँझ पक्राउ गरिएको एसपी राईले बताए । उनका अनुसार डकैती गर्ने गिरोहविरुद्ध डाँका मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु