काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने यू–१५ महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले सोमबार खेल तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता आगामी नोभेम्बर १ देखि ११ सम्म हुनेछ ।

नेपालले पहिलो खेलमा भुटानविरुद्ध खेल्नेछ । नेपाल र भुटानबीचको खेल नोभेम्बर ३ मा हुनेछ ।

नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५, भुटानसँग फेरि नोभेम्बर ९ र नोभेम्बर ११ मा पुनः बंगलादेशसँग खेल्नेछ ।

डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रतियोगिताका लागि नेपालको बन्द प्रशिक्षणमा ३० खेलाडी छन् ।

मुख्य प्रशिक्षकमा भगवती राना मगर, सहायक प्रशिक्षकमा मंगल महर्जन र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरीको नेतृत्वमा नेपालले तयारी गरिरहेको छ ।

बन्द प्रशिक्षणमा गोलकिपर राधिका ओली, सुजता तामाङ, सानिमाया स्याङ्ताङ, रुपा धिमाल सहभागी छन् ।

यसैगरी डिफेन्डरमा दीपा मगर, सान्जी थिङ, अञ्जना पुन मगर, विपन स्नेही, रेणु लिम्बु, अनिशा विक, अमिता भुल, प्रेरणा डोल्मा लामा, सीता रोकाया प्रशिक्षणमा सामेल छन् ।

मिडफिल्डरहरु रेविका नेपाली, सिवांगी स्नेही, मनिषा सेन, सुशीला केसी, सिमरन राई, दिलमाया घिसिङ, यशोधा बोहरा, पुनम चेम्जोङ, निर्मला आचार्य, सविता मण्डल, भूमिका बुढाथोकी, भावना परियार प्रशिक्षणमा सहभागी छन् ।

प्रशिक्षणमा फरवार्ड समीक्षा मगर, दीपा रोकाया, वर्षा ओली, सेनु परियार, सुक्रिया मियाको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु