बारा । ९ लाख नेपाली नक्कली नोटसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । नक्कली नोटसहित पक्राउ पर्नेमा एकजना भारतीय नागरिक पनि छन् ।
जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनमार्फत तीर्न जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत मोतिहारि पूर्वी चम्पारण पिपराकोठी बस्ने २५ वर्षीय रञ्जितकुमार मुखिया, कलैया उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ३४ वर्षीय सैनुल्लाह अन्सारी र सिम्रौनगढ नगरपालिका वडा नम्बर २ बस्ने ३६ वर्षका बिनाका मुखिया छन् ।
बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार असोज २१ रञ्जित सिम्रौनगढ नगरपालिका ५ कनकपुरस्थित एसपी साइन मोटरसाइकल लिएर नेपाल भित्रिने क्रममा पक्राउ परेका थिए ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा सैनुल्लाह र बिनाका पनि संलग्न रहेको देखिएपछि असोज २३ उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक बोगटीले बताए ।
उनीहरु लामो समयदेखि नक्कली नेपाली नोट नेपालमा विभिन्न माध्यमले भित्र्याउन सक्रिय रहेको प्रहरीले जनाएको छ ।