विराटनगर । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।
पोखरामा सोमवार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले हरायो । पुलिसले दिएको एक सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा १० ओभर २ बलमा पानी परेपछि खेल रोकिन पुग्यो ।
त्यसपछि बाँकी ओभरको खेल सम्भव नभएपछि डीएलए मेथड अनुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो ।
खेल रोकिनुअघि कर्णाली प्रदेशले सात विकेटको क्षतिमा १७ रन जोडेको थियो । कर्णालीका लागि दिक्षा पुरीले सर्वाधिक सात रन बनाएकी थिइन् ।
यस्तै दिव्या रानाले तीन, करिश्मा राईले एक रन जोड्दा अन्य पाँच खेलाडी शून्य रनमै आउट भए । पुलिसकी सबनम राई, संगीता राई, कविता जोशी, ईश्वरी विष्ट र हिरनमाया रोयले एक/एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित १६ ओभरमा ६ विकेटको क्षतिमा एक सय १० रन बनाएको थियो । वर्षाले मैदान भिजेका कारण केही ढिला सुरु भएको खेलमा चार ओभर घटाइएको थियो ।
पुलिसका लागि सम्झना खड्काले २१ बलमा दुई चौकाको मदतमा २५ रन बनाइन् । यसअघि काजल श्रेष्ठ र कविता कुँवरले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे ।
कविता र काजल दुवैले समान १६ रन बनाएका थिए । यस्तै रेवती धामिले १४ रन बनाइन् । कर्णाली प्रदेशका लागि अन्जु गुरुङले तीन तथा बिना थापा र एञ्जिला क्षत्रीले एकरएक विकेट लिए । खेलमा पुलिसकी सम्झना खड्का प्लेयर अफ द म्याच भइन् ।
यसैबीच आजै हुने तय भएको प्रदेश नम्बर १ र लुम्बिनी प्रदेशबीचको खेल पनि वर्षाका कारण प्रभावित भएपछि दुवै टोलीले अङ्क बाँडेका छन् । महिला क्रिकेटमा नौ टोलीको सहभागिता छ ।