गगन नुनिया
विराटनगर । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा विराटनगरमा ‘वाक फर मेन्टल हेल्थ’ शीर्षकमा प्रभातफेरिसहित जनचेतना मुलक कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल मनोचिकित्सक संघको आयोजनामा गरिएकाे कार्यक्रममा विराटनगरका ३० बढी चिकित्सक र मेडिकल रिप्रिजेन्टिटीभ्स (एमआर)को सहभागिता रहेको थियाे ।
र्यालीमा कोसी अस्पतालका मेसु डा. लक्ष्मी नारायण यादव, वरिष्ठ चिकित्सक डा. दिपक सिग्देल लगायत सहभागी थिए । चिकित्सकहरुले मिनी म्यारथन शैलीमा जनचेतनामुलक ब्यानर बोकेर विराटनगर बजार परिक्रमा गरेका थिए ।
‘स्वास्थ्य दिमाग र खुसी जीवनलाई राष्ट्रिय प्राथमिताको विषय बनाऔँ’ भन्ने मूल नारासाथ विराटनगरस्थित कोसी अस्पताल परिसरबाट निकालिएकाे र्यालीले शहिद रङ्गशाला, तीनपैनी र जलजला चौकको परिक्रमा गरेको थियो । सहर परिक्रमा पश्चात्त पुनः कोसी अस्पतालमा पुगेर समापन भएको र्यालीलाई संघका केन्द्रीय सदस्य तथा कोसी अस्पतालका मनोचिकित्सक डा. प्रभात चालिसेले सम्बाेधन गरेका थिए । सम्बोधनका क्रममा उनले मानसिक स्वास्थ्यको महत्वको बारेमा प्रकाश पारेका थिए ।
मानसिक स्वास्थ्यप्रति संवेदनशील बन्नुपर्ने, मानसिक स्वास्थ्यलालाई प्राथमिकता दिनुपर्ने र सहयोग भए रोग ठिक हुने डा. चालिसेले बताए ।
कोसी अस्पतालका मेसु डा. लक्ष्मी नारायण यादवले नेपालमा अहिले पनि धेरै मानिसहरुमा मानसिक समस्या भए पनि उपचारको लागि अस्पताल र चिकित्सकको सम्पर्कमा पुग्न नसेको बताए ।
‘सामाजिक रुपमा जनचेतना दिलाई परिवार जिम्मेवार बन्ने हो भने धेरैले उपचार पाई रोग ठिक हुने अध्ययनले नै देखाएको छ’ मेसु डा. यादवले भने, ‘बदलिँदो जीवनशैलीका कारण धेरै मानिसहरु मानसिक रोगको सिकार हुने गरेका छन् । जीवनशैलीमा सुधार गर्न सके मानसिक राेगबाट टाढा हुन सकिन्छ ।’
प्रत्येक वर्ष अक्टोबर १० तारिखका दिन विश्वभर मानसिक स्वास्थ्य दिवस मनाइन्छ ।
३०औं संस्करणको विश्व मानसिक स्वास्थ्य दिवस ‘सबैका लागि मानसिक स्वास्थ्यलाई विश्वव्यापी प्राथमिकता बनाऔं’ नाराका साथ विश्वभर मनाइएको छ ।
(प्रशिक्षार्थी)