धेरै नचलाएको भए हुन्थ्यो यो फुट्ने भाँडो ,
नचलाएकै भए हुन्थ्यो बरु
फुट्ने भनेर जानेपछि ।

खुब सम्झना छ
हामी सानो हुँदाको कथा–
आमा यही फुट्ने भाँडोमा
दूध हाल्नुहुन्थ्यो,
थोरै जोडन जोड्नुहुन्थ्यो,
सिकामा झुण्ड्याउनुहुन्थ्यो,
भोलि बिहान ढक्क दही बन्थ्यो,
आहा ! खानुको मजा नै बेग्लै थियो ।

हामी चौतारी जान्थ्यौँ,
फुट्ने भाँडो फुटाएर
खपटाको थुप्रै भाँडा बनाउँथ्यौँ,
हामी भात पकाइ खेल्थ्यौँ
भाँडाकुटी खेल्थ्यौँ
आगो नै नबाली
पाकेको भात चिउँडोले खाएर
खुब अघाउँथ्यौँ र
साँझमा भोकभोकै घर पुग्थ्यौँ ।

आज म
जब मान्छेहरुलाई देख्छु
फुट्ने भाँडो सम्झिहाल्छु ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु