काठमाडाैँ । जिल्ला अदालत काठमाडौँले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दिप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

बलात्कार आरोपमा पक्राउ परेका लामिछानेलाई २० गतेबाट गणना हुने गरी जिल्ला अदालत काठमाडौँले सात दिनका लागि म्याद थप गरेको हो ।

लामिछानेविरुद्ध गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको थियो । लामिछानेले आफूलाई गौशालास्थित एक होटलको कोठामा राखेर बलात्कार गरेको भन्दै किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् ।

त्यस बखत लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेलिरहेका थिए । सिपिएलमा एकै खेल नखेली नेपाल फर्किने सन्देश आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेर सम्पर्कविहीन बनेका लामिछानेलाई २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले पक्राउ गरेको थियो ।

तर त्यसबखत दसैँ बिदा रहेकाले प्रहरीले लामिछानेलाई सोमबार मात्रै म्याद थपका लागि अदालत लगेको हो । अदालतमा उपस्थित भएसँगै सात दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको छ ।

लामिछानेका अधिवक्ता सरोज घिमिरेले इजलासमा सन्दिपले आफू निर्दाेष रहेको बताएको र सोही अनुसारका प्रमाण प्रस्तुत गरेको जानकारी दिएका छन् ।

‘लामिछानेले आफूलाई निर्दाेष साबित गराउन चाहिने सबै प्रमाण पेश गर्नु भएको छ’ अधिवक्ता घिमिरेले भने, ‘अनुसन्धान प्रत्रिया अब अघि बढ्नेछ त्यसका लागि २० गतेबाट लागू हुने गरी अदालतले सात दिनको म्याद थप गरेको छ । हामी २७ गते अदालतमा हाजिर हुन्छौँ ।’

105
Shares
२४ आश्विन २०७९, सोमबार १४:१०