नेकपा (एकीकृत समाजवादी) का नेता ओसिम आलमले मोरङ क्षेत्र नम्बर ६ ‘ख’बाट प्रदेशसभा सदस्य पदका लागि मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेका आलमले कलम चुनाव चिन्ह लिएर आइतबार दिउँसो उम्मेदवारी दर्ता गराएका हुन् ।
पार्टीको मोरङ उपसचिव एवं प्रवक्ता रहेका आलम अनेरास्ववियुको केन्द्रीय सहअध्यक्षसमेत हुन् ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले दिएको आधिकारिक टिकटबाट आफूले मनोनयन दर्ता गराएको उनले बताए । ‘पार्टीको टिकटबाटै मनोनयन दर्ता गराएकाले सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवार मै हुँ,’ आलमले भने, ‘गठबन्धनका सबै पार्टीले सघाउँछन् भन्ने विश्वास लिएको छु ।’
उक्त क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका केदार कार्कीले प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । कार्की प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् । २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट उनी विजयी बनेका थिए ।
सत्तारुढबाट पुनः कार्कीले उम्मेदवारी दिँदै गर्दा आलमको मनोनयनले तरंग पैदा गरेको छ । गठबन्धनको आधिकारिक उम्मेदवार भएको दाबी गर्दै आलमले भने, ‘केदार कार्कीले मलाई सघाउनु हुने छ ।’
‘केदार कार्की मेरो साथी हो । प्रिय मित्र हो । चुनावमा उहाँले मलाई सघाउनु हुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘अनन्य मित्र भएकाले उहाँबाट मलाई धोका हुने छैन । पार्टीबाटै आधिकारिक टिकट पाएकाले मेरो उम्मेदवारीलाई लिएर गठबन्धनभित्र कुनै विवाद छैन ।’
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका आलम राजनीतिकर्मीसँगै सामाजिक अभियन्ताका रूपमा पनि परिचित छन् ।