विराटनगर । मोरङका सुरक्षा प्रमुखले आइतबार मनोनयनस्थलको अवलोकन एवं निरीक्षण गरेका छन् । विभिन्न दलबाट उम्मेदवार यकिन भएकाहरुले उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेका बेला सुरक्षा प्रमुखले विभिन्न मनोनयनस्थलको स्थलगत निरीक्षण गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, नेपाली सेनाका प्रमुख सेनानी अमृत थापामगर, मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, सशस्त्र प्रहरी प्रमुख एसपी राजकुमार लामिछाने, राष्ट्रिय अनुसन्धानका प्रमुख बासुदेव सिग्देल लगायतका सुरक्षा अधिकारीले निरीक्षण एवं अवलोकन गरेका हुन् ।

निरीक्षण गर्दै मनोनयनस्थलको सुरक्षा अवस्था र त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिइएको प्रजिअ दाहालले बताए । उनका अनुसार सबै निर्वाचन क्षेत्रमा सौहार्द र शान्तिपूर्ण रूपमा मनोनयन सम्पन्न भएको छ ।

शान्तिपूर्ण र भय तथा विवादरहित तवरबाट निर्वाचन सम्पन्न गर्न त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइने जानकारी दाहालले दिए ।

आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन गर्ने समय तोकिएको थियो । निर्वाचनका लागि उम्मेदवारलाई सम्बन्धित क्षेत्रबाटै मनोनयन दर्ताको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु