विराटनगर । नेकपा (एमाले) का युवा नेता पर्शुराम बस्नेत (कृष्ण) ले मनोनयनको अन्तिम समयमा आएर टिकट पाए । पार्टीले टिकट दिएपछि मोरङको क्षेत्र नम्बर ६ ‘ख’बाट प्रदेशसभा सदस्य पदका लागि उनले आइतबार दिउँसो मनोनयन दर्ता गराएका छन् ।
एमाले-जसपा गठबन्धन हुँदा यो क्षेत्र जसपाको भागमा परेको थियो । तर अन्तिम समयमा भएको सहमतिअनुसार मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा र दुवै प्रदेशसभा एमालेले जसपालाई छाडेको छ ।
त्यसपछि टिकट पाउन बस्नेत सफल भएका हुन् । बस्नेतले टिकट नपाउँदा एमालेभित्र चरम असन्तुष्टि पैदा भएको थियो । असन्तुष्टिलाई सम्बोधन गर्नकै लागि एमालेले अन्तिम समयमा बस्नेतलाई टिकट दिनुपर्ने अवस्था आएको हो ।
बस्नेत युवामाझ लोकप्रिय छन् । एमाले भातृ संगठन युवा संघ नेपालमा लामो समय राजनीति गरेका बस्नेत प्रदेश खेलकुद विकास बोर्डका पूर्वसदस्य सचिव हुन् । युवा संघलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेका उनी खेलकुद विकास बोर्डलाई पनि विवादरहित ढंगबाट सञ्चालन गर्न सफल भएका थिए ।
बस्नेतले युवाहरुको प्रतिनिधित्व गर्दै आफूले उम्मेदवारी दिएको बताए । ‘पार्टीले मलाई विश्वास गरेर टिकट दिएको छ । त्यो विश्वासलाई आत्मसात गर्दै युवाको प्रतिनिधित्व गरेर उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘मेरो उम्मेदवारी ‘जेनेरेसन’ को प्रतिनिधित्व हो । मतदाताले माया गरेर चुनाव जिताउनु हुने छ भन्ने अपेक्षा गरेको छु ।’
उम्मेदवारी दर्ताका क्रममा संक्षिप्त कुराकानी गर्दै बस्नेतले चुनाव जितेपछि विकासको मोडल कस्तो हुन्छ भनेर देखाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
‘विकासको मोडल कस्तो हुनुपर्छ भन्ने नमुना प्रस्तुत गर्छु,’ उनले भने, ‘युवाले नेतृत्व गर्दा विकास निर्माणले प्राथमिकता पाउँछ भन्ने उदाहरण प्रस्तुत गर्नु छ ।’ मोरङ क्षेत्र नम्बर ६ ‘ख’लाई समृद्ध बनाउने अठोट उनले गरेका छन् ।
आफ्नो निर्वाचन क्षेत्रलाई समृद्धिको बाटोतर्फ लैजाने लक्ष्य र उदेश्यका साथ आफू चुनावी मैदानमा ओर्लिएको बस्नेतले बताए । ‘चुनाव जितिसकेपछि जनप्रतिनिधिले आफूलाई मालिक ठानेका छन् । तर जनप्रतिनिधि मालिक नभइ जनताको सेवक हुन्,’ उनले भने, ‘मैले चुनाव जितेपछि जनप्रतिनिधि हाम्रो सहयोगी र दुःखका साथी हुन् भन्ने अनभूति जनतालाई गराउने छु । सच्चा पहरेदार भएर जनताको सेवकका रूपमा काम गर्ने प्रतिवद्धता जनाउँछु ।’
जनताको चाहना, भावना, योजना र आवश्यकता आफ्नो प्राथमिकतामा पर्ने उनको भनाइ छ । जनताको साथमा बसेर छलफल गर्दै यहाँका समस्यालाई समाधान गर्ने र विकास निर्माणको नेतृत्व गर्ने प्रतिवद्धता उनको छ ।
‘यहाँको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो । शिक्षा, स्वास्थ्य र खेलकुदलाई जोडेर वेरोगारीको समस्या समाधान गर्नेतर्फ अग्रसर हुने छु,’ बस्नेतले भने, ‘रोजगारीको अवसर सिर्जना गर्दै बेरोजगारी समस्या समाधान मेरो प्राथमिकता हो । जनतालाई दुःख दिने कुनै पनि काम मबाट हुने छैन ।’