काठमाडौं । एमालेबाट राजीनामा दिएका नेता घनश्याम भुसालले सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नम्बर १ बाट बाम स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आइतबार बिहान पत्रकार सम्मेलन गरी नेता भुसालले वामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिन लागेको बताए ।
आफूलाई सत्तारुढ गठबन्धनका दलहरुले समर्थन गर्ने प्रतिवद्धता जनाएको पनि उनले उल्लेख गरे । उनले आफूलाई नेकपा (माओवादी केन्द्र) ले आफ्नो चुनाव चिह्नबाट उम्मेदवारी दिन आग्रह गरेको भए पनि स्वतन्त्रबाटै उम्मेदवारी दिन चाहेको जनाए ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको तर्फबाट कुनै उम्मेदवारी नदिई आफूलाई सघाउने प्रतिवद्धता जनाएको भुसालले बताए । आफू राजनीतिमा सक्रिय व्यक्ति भएकाले संसदबाटै राजनीतिमा प्रभावकारी भुमिका खेल्ने उनको भनाइ छ ।
‘मलाई हिजो माओवादीका साथीहरुले विनम्रतापूर्व आफ्नो पार्टीको चुनाव चिह्न लिएर स्वतन्त्रमा उम्मेदवारी दिन आग्रह गर्नुभएको थियो । आफ्नो निर्वाचन चिह्न लिएर चुनाव लड्न कमरेड प्रचण्डले पनि आग्रह गर्नुभयो’ उनले भने ।
नेता भुसालले आफूले स्वतन्त्र भएरै चुनाव लड्न चाहेको बताएको उनले सुनाए । वाम एकताको कुरा गरेकै कारण आफूलाई किनारा लगाइएको दाबी पनि उनले गरे ।
नीति अनुसारको नेतृत्व आएको भए नेकपा एमाले भ्रष्टाचार नगर्ने नेताहरूको पार्टी बन्ने र एमाले नेतृत्वको सरकार रोजगार दिने पार्टी हुने दाबी भुसालले गरे ।